खराब मौसमका कारण उडान प्रभावित

काठमाडौं, जेठ १६ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मौसमको खराबीले अपराह्नदेखि विमानस्थलको अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अन्तर्राष्ट्रिय तथा आन्तरिकतर्फका केही उडान रद्द तथा उडान अन्यत्र मोडिने ‘डाइभर्ट’ भएका छन् भने आन्तरिकतर्फ पनि निर्धारित उडान तालिकाभन्दा ढिलो गरी उडान भएको छ ।

महाप्रबन्धक क्षेत्रीका अनुसार ‘इन रुट’ मा मौसमको खराबी जनाउँदै तिब्बत एयरलाइन्सले उडान रद्द गरेको छ, भने चाइना एयरलाइन्स डाइभर्ट भई भारतको कोलकाता पठाइएको छ । अपराह्नदेखि मौसम बदली भई भिजिबिलिटी कम रहेकाले उडानमा समस्या आएको हो । खासगरी उत्तरी क्षेत्रमा बाक्लो कुइरो र बादल लागेको छ । उत्तरतर्फबाहेकका अन्य रुटबाट आउने अन्तर्राष्ट्रिय उडानमा समस्या नरहेको तथा आन्तरिक उडान भने सञ्चालन भइरहेको महाप्रबन्धक क्षेत्रीले बताए ।

विमानस्थल १०० अन्तर्राष्ट्रियसहित दैनिक ४०० हाराहारीमा उडान हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विज्ञप्ति निकालेर आगामी तीन दिनसम्म देशका पूर्वी, मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा बदली रही मेघगर्जन हावाहुरीसहितको वर्षा हुने जनाएको छ ।

आज दिउँसो चर्को घाम लागे पनि अपराह्नदेखि काठमाण्डौ उपत्यकासहितका स्थानमा बदली र हल्का वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौमा ११ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो १६ मिलिमिटर वर्षा भएको थियो । काठमाडौंको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

कमेन्ट गर्नुहोस्