नयाँ बजेटको व्यवस्थाअनुसार कति तिर्नुपर्छ तपाइले आयकर ? (हिसाबसहित)

-तीर्थराज पौड्याल।
सरकारले संघीय संसदमा बुधबार प्रस्तुत गरेको विद्ययेकमा व्यक्तिगत र दम्पतिको आयकर स्ल्याबमा हेरफेर गरको छ तर करको दर भने यथावत राखिएको छ। आर्थिक विधयेक मार्फत आयकरको स्ल्याबमा भएको परिवर्तनसँगै तपाईले तिर्नुपर्ने कर रकम पनि परिवर्तन भएको छ। अब तपाईले कति तिर्नुपर्छ कर रु हेरौं।

आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ४ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ४ लाख ५० हजार रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशतमात्र आयकर लाग्नेछ । यसअघि व्यक्तिगत आयकरमा ३ लाख ५० हजार रुपैयाँसम्म र दम्पत्तिलाई ४ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्र लाग्ने व्यवस्था थियो।

संघीय संसदमा प्रस्तुत विद्ययेकमा व्यक्तिगत आयकरमा यसअघिकै १०, २० र ३० प्रतिशत करको दर यथावत रहेको छ। २० लाखभन्दा बढी आम्दानीमा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

एकल व्यक्तिले कति तिर्नुपर्छ आयकर ?
एकल प्राकृतिक व्यक्तिको हकमा ४ लाख रुपैयाँसम्म एक प्रतिशत कर लाग्नेछ । ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आय गर्नेले ४ लाख रुपैयाँसम्म ४ हजार र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ। यसैगरि ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढीको आम्दानीमा थप २० प्रतिशत कर लाग्नेछ।

यस्तै ७ लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख रुपैयाँसम्म वार्षिक ५४ हजार रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप ३० प्रतिशत कर लाग्नेछ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख ४४ हजार र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा २० लाखसम्म लाग्ने करको दरमा थप २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

दम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ?
यसरी दम्पत्तिको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म एक प्रतिशतका दरले कर तिनुपर्छ। ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्म आय गर्नेले ४ लाख ५० हजार रुपैयाँसम्म ४ हजार ५०० रुपैयाँ र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ।

यसैगरि ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार ५०० रुपैयाँ र ५ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप २० प्रतिशत कर लाग्नेछ ।

यस्तै ७ लाख ५० हजार रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख ५० हजार रुपैयाँसम्म वार्षिक ५४ हजार ५०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा थप ३० प्रतिशत कर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख २९ हजार ५०० रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा थप २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ।

तर निवृत्तभरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आायमा भने आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिमको कर लाग्ने छैन।

राजधानी काठमाडौंको महङ्गी र आम्दानीलाई हेर्दा एक दम्पत्तिलाई कायम गरिएको ४ लाख ५० हजारको करको स्ल्याब निकै कम देखिन्छ। करको स्ल्याबमा थोरै हुँदा आम्दानी भन्दा धेरै करको बोझले तल्ला तहदेखि माथिल्ला तहका कर्मचारीसम्मलाई असर पर्दै आएको छ ।

क–कसले आयकर तिर्नुपर्छ ?

आयकर ऐन २०५८ अनुसार करयोग्य आम्दानी गर्ने वा आर्थिक लाभ प्राप्त गर्ने प्रत्येक प्राकृतिक व्यक्ति तथा निकायले कर तिर्नु अनिवार्य हुन्छ । प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र सो वर्षको आय विवरण सम्बन्धित निकायमा बुझाउनुपर्छ र सोही विवरण अनुसार कर तिर्नुपर्छ।

कुनैपनि व्यक्ति वा निकायले प्राप्त गरेको करयोग्य आम्दानीबाट सरकारलाई बुझाउनुपर्ने रकमलाई नै आयकर भनिन्छ । राज्य अनुसार करको दायरा र व्यवस्था फरक–फरक हुन सक्दछन् । नेपालमा आयकर ऐन २०५८ तथा आयकर नियमावली २०५९ मा गरिएको व्यवस्थाको आधारमा सरकारले कर लिँदै आएको छ । यो समाचार मेरो लगानी डटकमबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्