काठमाडौं, जेठ १७ । तेस्रो संस्रकणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कप्तान पुष्प थापा एक्लैले ६ विकेट लिएपछि प्रदेश १ ले कर्णाली प्रदेशलाई १८१ रनले पराजित गर्न सफल भएको छ । २२९ रनको लक्ष्य पछ्याएको कर्णालीले २०.१ ओभरमा ४७ रन बनाएर अलआउट भयो ।
उसका लागि निश्चल रावलले दोहोरो अंकमा रन बनाउन सके । उनले १७ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । बलिङमा प्रदेश १ का कप्तान पुष्प थापाले ९.१ मा एक मेडन ओभरसहित १९ रन दिएर ६ विकेट लिए । यस्तै, मुकुन्द यादवले ३ र कमल खत्रीले एक विकेट हात पारे ।
यसअघि कीर्तिपुर स्थित टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको प्रदेश १ ले निर्धारित ५० मा ८ विकेट गुमाएर २२८ रन बनायो । उसका लागि सिद्धान्त लोहानी र फिर्दोस अन्सारीले उत्कृष्ट प्रदर्शन गरे । सिद्धान्तले ७ चौकाको मद्दतमा ९० बलमा ६३ रन बनाउँदै रिटायर्ट हर्ट भए । उनी खुट्टामा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।
यस्तै फिर्दोसले २ चौका र २ छक्काको सहयोगमा ३७ बलमा नट आउट ४५ रनको योगदान दिए । त्यस्तै सन्नी पुनले ३४, कप्तान पुष्प थापाले २९, राजन मगरले १६, मिनाष थापाले १३ रन बनाए । बलिङमा कर्णालीका दिवान पुन, प्रकाश जैशी, ललित प्याकुरेलले २–२, सुदन पोखरेल र महेश खत्रीले एकएक विकेट हात पारे ।