अब कृषि क्षेत्रमा विकासको ढोका खुल्योः राज्यमन्त्री चौधरी

सुनसरी, जेठ १७ । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले २०७६–०७७ को बजेटले कृषि क्षेत्रको समग्र बिकासको ढोका खोलेको बताएकी छिन् । च्याउ उत्पादक संघ केन्द्रिय समितिद्वारा ईटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

बजेटले चक्लाबन्दी खेती प्रणालीमा लैजान मद्दत पुर्याउने उनले बताइन् । बजेटमा तराईमा १०० बिघा भन्दा बढी चक्लाबन्दिमा खेती गर्ने किसानलाई बिशेष सुबिधाको व्यवस्थासमेत रहेको मन्त्री चौधरीले बताइन् ।

चक्लाबन्दी खेतीले श्रमको सही सदुपयोग, औजारीकरण, आधुनीकीकरण, व्यवसायीकारणका साथै उत्पादनमा वृद्धिसमेत हुने र यसले देशलाई आत्मनिर्भर बनाउने उनको भनाई थियो । बजेटमा खेती योग्य जमीनमा संचालमा रहेका जोन, सुपरजोन, चक्लाबन्दी,सामूहिक खेती समूह, सहकारी र प्रा.लीबाट भइरहेको स्थानमा नहर सिँचाइ, उर्जा सिचाइ, स्यालो टुयबेल र डिब बोर्डिङ पुर्याउने लक्ष्यसमेत लिएको मन्त्री चौधरीले जानकारी दिइन् ।

यस्तै, मन्त्री चौधरीले च्याउ खेती घरेलु महिला र बेरोजगार युवा युवतीको लागी रोजगार सृजना भएको बताइन् । कार्यक्रम च्याउ उत्पादक संघका केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रदेश एकका च्याउ किसानको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्