प्रधानमन्त्री कपः आर्मीविरुद्ध पुलिस ५० रनले विजयी

काठमाडौं, जेठ १८ । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५० रनले हराएको छ । कीर्तिपुर स्थित टीयु मैदानमा १६२ रनको सामान्य लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको आर्मीले ४२.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १११ रन मात्र बनायोे ।

उसका लागि हरि चौहानले सर्बाधिक ३४, रोहितकुमार पौडेल र राजु रिजालले १६–१६ रन बनाए । बलिङमा पुलिसका ललितनारायण राजवंशीले ३, आरिफ शेख, दिपेन्द्रसिंह ऐरीले २–२, सुनिल धमाला र पवन सराफले एकएक विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको पुलिसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र बनाउन सक्यो । 

उसका लागि कप्तान मञ्चित श्रेष्ठले सर्बाधिक नट आउट ३६, आरिफ शेखले ३४, दिपेन्द्रसिंह ऐरीले २९, दिलीप नाथले १४, अनिलकुमार शाहले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा आर्मीका शाहव आलमले ४, करण केसीले २, जितेन्द्र मुखिया, कुशल मल्ल र सुशान भारीले एकएक विकेट हात पारे । 

कमेन्ट गर्नुहोस्