विप्लव पनि एक दिन नेकपा प्रवेश गर्नेछन्ः प्रचण्ड

काठमाडौं, जेठ १९ । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समृद्धिको परिणाम जति चाँडो जनतालाई दिन सक्यो त्यति नै कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुने बताएका छन् । विप्लव समूह परित्याग गर्दै आइतबार नेकपामा प्रवेश गरेका पदम राईलाई पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टीकै नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पुरा गर्ने संभावना छ । नेपालमा मात्र शान्तिपूर्ण रुपले समृद्धि कायम गरेर समाजवादमा जाने सम्भावना पैदा भएको छ,’ उनले भने, ‘यो संभावना सजिलै पैदा भएको होइन । यो लामो संघर्ष र बलिदानको श्रृंखलाको बीचबाट नै अहिले नेपालमा कम्युनिष्ट आन्दोलन लोकप्रिय भयो । ’

अध्यक्ष प्रचण्डले अहिलेको नेपालको परिस्थिति नितान्त भिन्न परिस्थिति भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीले समाजवादको उद्देश्य र आधार तयार गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पीडित जाति र क्षेत्रलाई सम्बोधन गर्ने जमार्को गरेका छौं ।’

विप्लव समूहले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको तर्क गर्दै अध्यक्ष प्रचण्डले एक दिन विप्लव पनि यही समूहमा आएर जोडिने बताए । जनयुद्धकाल र अहिलेको परिस्थिति फरक भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले आफूले लडेर ल्याएका उपलब्धिलाई रक्षा गरेर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

कमेन्ट गर्नुहोस्