अझै केही दिन साँझपख वर्षा हुने

काठमाडौं, जेठ १९ । मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।

बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘३–४ दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ । दिउँसो घाम लागेपनि साँझपख मौसममा बदली भई पश्चिम तराई बाहेकका स्थानमा वर्षा हुने सम्भावना छ’, महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने ।

जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन । अहिले वायुमण्डलको तल्लो सतह ९एकरडेढ किलोमिटरसम्म० मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताए । सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एकसाता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।

पश्चिम तराईमा केही दिन अझै सुक्खा

नेपालको पश्चिम तराईमा भने यस मौसम प्रणालीको प्रभाव छैन । बङ्गालको खाडीबाट पनि टाढा रहेको र पश्चिमी वायुको प्रभाव तराईमा सधैं नपर्ने भएकाले नेपालगञ्जदेखि पश्चिमको तराईमा भने अझै केही दिन सुक्खा रहने मौसमविद् अर्यालले जानकारी दिए । पश्चिमी वायुको मौसम प्रणाली धेरै भयो भने मात्र पश्चिम तराईमा प्रभाव पर्ने हो, पश्चिमी वायुको प्रभाव सामान्यतया पश्चिम भेगका पहाडी र हिमाली क्षेत्रमा बढी पर्छ । ‘पश्चिम तराईमा तत्काल वर्षा नभए पनि बादल देखिएर ३–४ डिग्री सेल्सियस तापक्रम घट्ने अनुमान छ’, उनले भने ।

पश्चिमी तराईमा हाल पूर्वको तुलनामा ५–६ डिग्री सेल्सियस तापक्रम बढी छ । नेपालमा पश्चिमी वायु भूमध्यसागरबाट उत्तरपश्चिम हुँदै प्रवेश गर्छ । महाशाखाको पछिल्लो २४ घण्टाको विवरणअनुसार पोखरामा सबैभन्दा बढी ३५ मिलिमिटर वर्षा भएको छ । रासस

कमेन्ट गर्नुहोस्