तारकेश्वरमा धुलो र हिलोमा हिँडन नपर्ने

काठमाडौं, जेठ १९ । संघ, प्रदेश र स्थानीय तीनवटै तहका जनप्रतिनिधिले अबको ३ वर्षभित्र तारकेश्वर नगरपालिकाका बासिन्दाले वर्षामा हिलो र हिउँदमा धूलोमा हिँड्न नपर्ने गरी सडक निर्माण हुने बताएका छन् ।

तारकेश्वर नगरपालिका गठन गर्दा पिच सडक नभएपनि विगत दुईवर्षमा ठूला तथा साना सडक निर्माणको कार्य तीव्ररूपमा अगाडि बढेको जानकारी दिँदै जनप्रतिनिधिले यस्तो जानकारी दिएको हो । तारकेश्वर नगरपालिका वडा नं.४ स्थित माच्छ्रापुच्छ्रे टोल सुधार समितिले शनिबार आयोजना गरेको ‘जनतासँग जनप्रतिनिधि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले दलीय आस्थाभन्दा माथि उठेर विकासमा एकजुट भएर लाग्न स्थानीयबासीसँग आग्रह गरे ।

उनले अष्टनारायण सिनेमा हलदेखि ठाँटीसम्मको करिब ७ किलोमिटर सडक ५२ करोड रुपियाँको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । यो सडक दर्गुर्ने पानी–शेषमती पुल–लामबगर–जरङ्खु हुँदै काभे्रस्थलीको फिरफिरे डाँडासम्म ११ मिटर चौडाइको हुने छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने सो सडकको निर्माण कार्य भने निकै सुस्त रहेको गुनासो स्थानीयबासीको छ ।

यस्तै, शेषमतीदेखि सानोपुल हुँदै जाने सडक पनि निर्माणको प्रक्रियामा रहेको छ । महादेव खोला किनारतर्फ बनाइएका झण्डै एक दर्जन भन्दा बढी टहरा टहरा नभत्काई अटेर गरेमा डोजर लगाएर भत्काइने भएको छ । सांसद मानन्धरले शनिबार नागिनी खोलाको फोहोर सफाइ गर्न त्यस क्षेत्रका बासिन्दालाई अनिवार्य उपस्थित हुन आग्रह गरे ।

यस्तै, प्रदेशसभाका सांसद प्रकाश श्रेष्ठले घट्टेपाखामा ५० लाख रुपियाँको लगानीमा तीन लाख २५ हजार लिटर पानी अट्ने पानी ट्याङ्की निर्माणको कार्य सकिएको जानकारी दिदै आगामी वर्ष ५० लाख रुपैयाँको लगानीमा फूलबारी क्षेत्रमा डिपबोरिङ गरिने बताए । उनले दुई वर्षभित्र स्थानीय स्रोतको प्रयोग गरी यस क्षेत्रका सबै घरमा शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

तारकेश्वरको वडा नं. ४ को वडा कार्यालय भवन रहेको दगुर्ने पानी परिसरमा ६ करोड रुपियाँको लागतमा पोखरीसहितको उद्यान बनाइने प्रक्रिया सुरु भएको र आगामी वर्ष पाँचमाने र विन्ध्यावासिनी क्षेत्रमा अरु दुईवटा पार्क बनाउने योजना रहेको भनाइ सभासद श्रेष्ठको भनाइ छ ।

यस्तै, साहित्य सदन निर्माणका लागि २५ लाख रुपियाँ बजेट छुट्टाइएको, गोलढुंगा भ्युटारलाई अझ बढी पर्यटक मैत्री बनाउन ६० लाख रुपियाँको लागतमा निर्माण कार्य भइरहेको, स्थानीय तहमै व्यावसायिक खेती गर्नका लागि एक करोड २५ लाख रुपैयाँको बजेट रहेको जानकारी पनि उनले दिए ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले कला संस्कृति, ऐतिहासिक धार्मिक स्थल, यहाँको इतिहास र भूगोललाई समेटेर पहिलो चरणमा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक पढाइने बताए । उनले नगरपालिकाले सुरु गरेको जनताको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीको साझेदारी कार्यक्रम निकै लोकप्रिय भएकाले १० करोडभन्दा बढी लगानी भएको जानकारी दिए । स्थानीयबासीले आधा र नगरपालिकाको आधा बजेटमा तारकेश्वरका विभिन्न वडामा यस वर्ष सडक ढलान पिच गर्ने कार्य भएको सम्पन्न भएको छ ।

विकासमा कुरा बाझियो

नगरप्रमुख बोहराले भने, ‘पुरानो बस्ती र नयाँ बस्ती र मानिसको बढी व्यस्तताका कारणले पनि विकास निर्माणमा केही समस्या आएको छ, स्थानीयबासीको विकास होस् भन्ने चाहना तीव्र रहेकाले त्यसलाई पूरा गर्न हामी प्रतिबद्ध छौं ।’ तर संघका सांसद रामवीर मानन्धर र प्रदेश सभासदस्य प्रकाश श्रेष्ठले जनताबाट पैसा लिने कार्य नगर्न र बजेटको अभाव नहुने धारणा राखे । उनको यस्तो भनार्इ आएपनि साना साना विकास निर्माणमा समेत नगरपालिकाले बजेट उपलब्ध गराउन नसेकको भनाइ स्थानीयबासीको छ ।

उनले अबको तीन वर्षभित्र नगरका सबै सडक पिच भइसक्ने र खानेपानी, विद्युत, दूरसञ्चार, ढल बनाउने कार्यक्रम समन्वय गरेर मात्रै विकास प्रक्रिया अगाडि बढाउनका लागि प्रयास भइरहेको बताए । समितिका अध्यक्ष मोहनकुमार शाहीले टोलको विकासका लागि जनप्रतिनिधिबाट देखाइएको चासोप्रति धन्यवाद ज्ञापन गर्नुहुँदै सडक, ढल, खानेपानी र सडक बत्तीका लागि पर्याप्त बजेट उपलब्ध गराइदिन आग्रह गरे ।

कार्यक्रममा स्थानीयवासीले खानेपानीको अभाव रहेको, पानी आए पनि फोहोर मिसिएर आउने गरेको गुनासो जनप्रतिनिधिसँग राखेका थिए । साथै, स्थानीयवासीले दुई वर्षको अवधिमा विकास निर्माणका कार्यले गति लिएको भन्दै जनताको चाहना र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं समाजसेवी अर्जुन घिमिरे, मधु कार्की, विन्दु थापा सापकोटा, आशिया विक, कमल रिजाल, सालिकराम नेपाल, कृष्ण गिरीलगायतले स्थानीय समस्या र विकास लागि भइरहेका प्रयासबारे आ–आफ्नो धारणा राखेको थियो ।

कमेन्ट गर्नुहोस्