दिनभर मालवाहक सवारी चलाउन रोक

काठमाडौं, जेठ १९ । आउँदो असार १ गतेबाट काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन ।

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्को-चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ । अनलाइन खबरबाट

कमेन्ट गर्नुहोस्