उमा विश्वकर्मा बनिन् प्रधानमन्त्री

पाल्पा, जेठ २० । पाल्पाका युवालाई संसदीय अभ्यासबारे तालिम दिइएको छ। पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्दै गएको भन्दै उनीहरुलाई राजनीतितर्फ आकर्षित गर्न चारदिने तालिम दिइएको हो। जेठ १६ देखि १९ गतेसम्म तालिम संचालन गरिएको थियो।

तानसेन नगरपालिकाको आयोजना र जिल्ला युवा समिति पाल्पाको समन्वयमा तानसेन नगरपालिका स्तरीय नमुना युवा संसद स्थापना र अभ्यास सम्बन्धी तालिम संचालन गरिएको हो। नमुना युवा संसदका सभामुखको भूमिका निर्वाह गरेका युवा मेघराज बश्यालले संसदीय व्यवस्थाबारे किताबमा पढेको र सुनेका कुराको आफुहरुले प्रत्यक्ष अभ्यास गर्न पाएकोमा खुसी व्यक्त गरे।

संसद बैठक, संसद संचालनको प्रक्रिया, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, महासचिव, मन्त्रीहरु, सत्तापक्षका संसद र प्रतिपक्षका संसदको भूमिकामा रहेर अभ्यास गर्‍यौं उनले भने मलाई भविष्यमा साँच्चिकै संसद हुने रहर जागेको छ। प्रधानमन्त्रीको भूमिकामा अभ्यास गरेकी उमा विश्वकर्माले संसदमा पेश हुने नीति तथा कार्यक्रम, बजेट, स्थानीय तहको कामकारबाहीका बारेमा तालिममा सिक्ने मौका मिलेको बताइन्। उनले भनिन् राजनीतिले मुलुक चलाउने रहेछ यसमा युवाको सहभागिता बढाउनुपर्छ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले युवा नीति–२०७२ अनुरुप तानसेन नगरपालिका भित्रका ३५ जना युवालाई संसदीय अभ्यासबारे तालिम दिएको बताए। तलिमका प्रशिक्षक युवा समिति दाङका अध्यक्ष तथा युवा संसद स्थापना र अभ्यास कार्यक्रम प्रदेश पाँचका सह–सयोजक सुरेशकुमार राउतले जनताको मतले जितेर गएका कतिपय संसद अहिलेपनि बैठकमा आफ्ना कुरा निर्धक्क राख्न नसक्ने रहेको भन्दै अहिले देखिनै युवालाई अभ्यास गराउनु जरुरी रहेको।

उनले भने कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र समग्र राजनितिको बारेमा सकारात्मक ज्ञान दिएमा मुलुक निर्माणमा युवाको सक्रियता अझै बढ्नेछ। मुलुकको संसदीय व्यवस्था कसरी संचालन हुन्छ, नीति तथा कार्यक्रम र बजेट विनियोजन कसरी गरिन्छ, स्थानीय सरकार संचालन कसरी गरिन्छ, संसदमा पेश हुने सार्वजनिक महत्वका विद्येयक, प्रस्ताव, संसद बैठकको शून्य समय र विशेष समय लगायतको बारेमा तालिममा सहजीकरण गरिएको थियो।

तानसेन नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका सभापति दिपक विश्वकर्माले यो तालिममा सहभागी मध्ये उत्कृष्ट दुइजनलाई प्रदेश स्तरीय युवा संसद स्थापना र अभ्यास कार्यक्रममा सहभागी गराइने बताए। अभ्यासका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सत्तापक्ष प्रतिपक्ष संसदको भूमिकामा रहेका सहभागीले नगर भित्रको फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटकीय संभावना बोकेका श्रीनगरडाँडा, रानीमहल, पाल्पा दरबार लगायका विषयवस्तुमा विशेष छलफल गरेका थिए। यो समाचार थाह खबरबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्