वन निगमको फाइल मन्त्रिपरिषदमा

काठमाडौं, जेठ २० । द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ।

दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गत साउनमा भएकोमा सबै प्रक्रिया पूरा गरेर फाइल मन्त्रिपरिषद्मा पुगेको र मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा जाने मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए। दुवै संस्थासँग आवश्यक छलफल तथा अध्ययन गरी तयार गरेको प्रतिवेदनका आधारमा अर्थ मन्त्रालय स्वीकृतीसमेत दिइसकेको छ ।

निगममा सम्बन्धित मन्त्रालय र विभाग सदस्य रहनेछन् । हाल टिम्बर कर्पोरेशनमा करीब ९० स्थायी र ७५ ज्यालादारी कर्मचारी छन् । वन पैदावारमा ८८ स्थायी, १९ करार र १७८ वन रक्षक दैनिक ज्यालादारी कार्यरत छन् । वन निगममा दुवै संस्थाका स्थायी कर्मचारी स्वतः पदस्थापन हुने र अस्थायी कर्मचारीलाई पनि तत्काल यथावत् राखिने जनाएको छ। वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गत वर्ष १ सय बुँदे कार्ययोजना सार्वजनिक गर्दै निगम गठन गरिने घोषणा गरेका थिए।

कमेन्ट गर्नुहोस्