Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नगरपालिकाका मेयरसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी

सप्तरी, जेठ २० । सप्तरीको सप्तकोशी नगरपालिकाका मेयर उत्तमकुमार शर्मासहित ४ जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।

डिभिजन वन कार्यालय सप्तरीले राष्ट्रिय वन क्षेत्रमा अनाधिकृत रुपमा नाला निर्माण गरेको आरोपमा वन कार्यालयले मेयरसहितका ४ जनालाई तीन दिनअघि पक्राउ पुर्जी जारी गरेको हो । लिखित रुपमै आग्रह गर्दा समेत जनप्रतिनीधिले अटेर गरेपछि पक्राउ पुर्जी जारी गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख धिरेन्द्रप्रसाद सिंहले जानकारी दिएका छन् ।

डिभिजन वन कार्यालयले पक्राउ पुर्जी जारी गरेका ४ जना मध्ये वडा नं. १ का वडाध्यक्ष नारायण आचार्य पनि छन् । अन्य २ जना निर्माण समितिका पदाधिकारी रहेको डिभिजन प्रमुख सिंहले बताए । वडा अध्यक्ष आचार्य र उनका छोरा सुशिलकुमार आचार्य विरुद्ध डिभिजन वन कार्यालयले गत ४ पुषमा पहिलो पक्राउ पुर्जी जारी गरिएको थियो । उनीहरु सप्तकोशी नगरपालिका १ स्थित अमाहा खोलाबाट गैरकानुनी रुपमा बालुवा–गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न भएको वन कार्यालयको आरोप छ ।

डिभिजन प्रमुख सिंहका अनुसार आचार्यको ना ४ त १८४५ नम्बरको ट्रयाक्टर खोलाबाटै पक्राउ परेको थियो । पक्राउ गर्न पुगेका सुरक्षाकर्मीलाई दुव्र्यवहार गर्दै आचार्यले ट्रयाक्टर लिएर गएको उनको भनाई छ । वन क्षेत्रमा जेसिभी प्रयोग गरेर करिव १ सय मिटर लामो नाला निर्माण गरिएकोले लिखित रूपमै आफुहरुले काम रोक्न आग्रह गरेकोमा अटेर गरेपछि पुर्जी जारी गर्नुपरेको उनले बताए । विकास निर्माणका नाममा वन कर्मचारीको जागिर नै धरापमा पर्ने गरी जनप्रतिनिधिले काम गर्न थालेपछि आफु बाध्य भएर अदालतको आदेशमै पक्राउ पुर्जी जारी गरेको प्रमुख सिंहले जानकारी दिए ।

नगरपालिकाको विकासीय काममा वन कार्यालयले अवरोध गरेको सप्तकोशी नगरपालिकाका मेयर शर्माको आरोप छ । खोला नियन्त्रण गर्न निकासका लागि सुरु गरिएको नाला निर्माणको काम वन कार्यालयले नै रोकेको उनले बताए । वन कार्यालयको पटक–पटकको अवरोधका कारण विकास निर्माणका काम अवरुद्ध भएको उहाँले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: