विश्वकप क्रिकेटः पाकिस्तानको उत्कृष्ट कमब्याक, इंग्ल्याण्डविरुद्ध रोमाञ्चक जित

काठमाडौं, जेठ २० । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उत्कृष्ट कमब्याक गरेको छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग लज्जास्पद हार बेहोरेको पाकिस्तानले आज इंग्ल्याण्डलाई १४ रनले हराउँदै उत्कृष्ट कमब्याक गरेको हो । पाकिस्तानले दिएको ३४९ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रन मात्र बनायो । 

इंग्ल्याण्डका लागि दुई खेलाडीले शतक बनापनि टिमलाई जीत दिलाउन सकेनन् । उसका लागि पहिलो शतक जो रुटले बनाउन सफल भए । उनले १ छक्का र १० चौकाको मद्दतमा १०४ बलमा १०४ रन बनाए ।

यस्तै जोस बटलरले २ छक्का र ९ चौकाको सहयोगमा ७६ बलमा १०३ रनको योगदान दिए । इंग्ल्याण्डका लागि जोनि बेयरिस्टोले ३२, क्रिस ओक्सले २१, मोइन अलिले १९, बेन स्टोक्सले १३, जोसन रोयले ८ रन बनाए । बलिङमा पाकिस्तान वहाब रियाजले ३, शादाव खान, मोहम्मद आमिरले २–२, मोहम्मद अफिज र सोयव मलिकले एक–एक विकेट लिए ।  
 
यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनायो । उसका लागि मोहम्मद अफिजले ६२ बलमा ८४, बाबर आजमले ६६ बलमा ६३, कप्तान सरफराज अहमदले ४४ बलमा ५५, इमाम उल हकले ५८ बलमा ४४, फखर जमानले ४० बलमा ३६ र आशिफ अलिले ११ बलमा १४ रन बनाए । यस्तै, सोयव मलिकले ८, वहाब रियाजले ४, हसन अलि र सादव खानले नटआउट १०–१० रनको योगदान दिए । बलिङमा इंग्ल्याण्डका मोइन अलि, क्रिस ओक्सले ३–३, मार्क उडले २ विकेट लिए ।  

कमेन्ट गर्नुहोस्