श्रीलंकामा मुस्लिम मन्त्रीहरूको राजिनामाप्रति के भने हिन्दू सांसदहरूले ?

श्रीलंकामा नौ जना मुस्लिम मन्त्रीहरूले राजिनामा दिएपछि त्यहाँका हिन्दू सांसदहरूले आपत्ति जनाएका छन् ।

बौद्ध बहुल श्रीलंकामा २५० बढीको ज्यान जानेगरि गत २१ एप्रिलमा भएको बम आक्रमणपछि विकसित घटनाक्रमहरूमा त्यहाँका नौ जना मन्त्री र दुई प्रदेश प्रमुखले राजिनामा दिएका हुन् ।

संसद सदस्य समेत रहेका एकजना बौद्ध भिक्षु अतुलारिये रतना उक्त आक्रमणमा संदिग्द्घ रहेको भन्दै दुइ मन्त्री र एक जना प्रदेश प्रमुखको राजिनामा माग गर्दै आमरण अनसनमा रहेका थिए ।

बौद्ध भिक्षु अतुलारिये रतना

प्रभावशाली बौद्ध सन्यासी रहेका अतुलारिये रतना प्रधानमन्त्री रनिल विक्रमासिंघेको दल युएनपीका सांसद हुन् ।

रतनाले दुई प्रदेश प्रमुख र एक जना मन्त्रीको २१ एप्रिलमा भएको विस्फोटमा संलग्ना रहेको आरोप लगाउँदै आएका छन्।

अन्य आठ मुस्लिम मन्त्रीहरूमाथि रतनाले औंला नउठाए पनि उनीहरूले कथित रूपमा आरोपित मन्त्री र प्रदेश प्रमुखहरूप्रति एक्यबद्धता प्रदर्शित गर्दै पदत्याग गरेका हुन् ।

उनीहरूको राजिनामाप्रति त्यहाँका हिन्दू सांसद र नेताहरूले कडा आपत्ति जनाएका छन् । उनीहरूले मुस्लिम मन्त्रीहरू भेदभावको शिकार भएको भन्दै यस्तो भेदभावको शिकार आज मुस्लिमहरू भइरहेको र भोलि अरू हुनसक्ने भन्दै आपत्ति जनाएका छन् ।

हिन्दूहरूको दल द तमिल नेशनल अलायन्स (टीएनए) का प्रवक्ता र सांसद एम सुमनतिरनले भने, “आज यिनीहरूलाई निसाना बनाइएको छ भोलि अरु हुन सक्छन । आज सबै श्रीलंकाली नागरिकहरूमा एकता आवश्यक छ । हामीहरू श्रीलंकाली मुस्लिमहरूको साथ छौं ।”

श्रीलंकाको एउटा हिन्दू मन्दिर

तमिल प्रोग्रेसिभ अलायन्स र श्रीलंकाका हिन्दू नेता मनो गणेशनले भने- यदि सरकार बौद्ध सन्यासीहरूले भने अनुसार चल्ने हो भने देशलाई भगवान बुद्धले समेत बचाउन सक्नु हुन्न ।”

गणेशनका अनुसार मुसल्मान्हारूमथी लगाइएका कुनै पनि आरोप प्रमाणित भएका छैनन् र उनीहरू आजसम्म यस्ता गतिविधीहरूमा सामेल भएको समेत पाइएको  छैन ।

उनले मुस्लिम मन्त्रीहरूलाई पदत्याग गर्न बाध्य पारिनु गौतम बुद्धको अपमान भएको र यसो भएमा विश्वले श्रीलंकालाई बौद्ध देशको रूपमा नमान्ने बताए ।

उता मुस्लिम मन्त्रीहरूले राजिनामा दिएपछि अतुलारिये रतनाले चार दिन लामो भोक हड्ताल टुंगिएको बताएका छन् ।

सोमवार नौ जना मन्त्रीहरूले अशान्ति रोक्न आफूहरूले राजिनामा दिएको बताएका थिए ।

यी मन्त्रीहरूको राजिनामाले सरकारको समीकरणमा भने असर नपर्ने बताइएको छ । पदत्याग गरेका मुस्लिम मन्त्रीहरूले आफूहरू सांसदको रूपमा सरकारसँगै  रहने बताइसकेका छन् ।

श्रीलंकाका कट्टरपन्थी बौद्ध भिक्षुहरूले रतनासँग ऐक्यबद्धता जनाएका छन् । यिनमा प्रमुख नाम गलागोडा अथे ज्ञानसाराको रहेको छ । उनीमाथि पहिलेदेखि नै मुसलमानहरूविरुद्ध हिँसा भड्काउने गरेको आरोप लाग्दै आएको छ ।

ज्ञानसारा अदालतको मानहानिको मुद्दामा छ वर्षको कारावास पनि बिताइसकेका छन् । उनले सोमवार दिउँसोसम्म मुस्लिम मन्त्रीहरूले राजिनामा नदिए श्रीलंकाभरि ‘तमाशा’ देखाइदिने चेतावनी दिएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्