मुक्तिको यात्रा लामो छ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले वर्तमान राजनैतिक उपलब्धिमा दलित समुदायको निकै महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

विशेष गरेर दलित महिला समुदायको विद्रोहले जनयुद्धमा उर्जा भर्ने काम गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले कानुनमा उल्लेख भैसक्दा पनि व्यवहारमा दलितविरुद्धको विभेद र छुवाछुत अन्त्य नहुनु आँफैमा राम्रो नभएको बताए ।

राजधानीमा आयोजित जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ (संशोधित)को प्रभावकारिता तथा कार्यान्वयनको अवस्था विषयक संवाद र ‘इभा क्यासेल सामाजिक न्याय पुरस्कार’ वितरण समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै प्रचण्डले आफूले दलितहरूलाई अधिकारसम्पन्न गराउन गरेको प्रयत्न सफल नहुन सकेकोमा आफू दुःखी रहेको समेत बताए ।

याे पनि पढ्नुस  अध्यक्ष प्रचण्ड भेटेर सामन्त तथा सुदखाेर पीडित महिलाहरु रुन थालेपछि.. (भिडियाे)

अध्यक्ष प्रचण्डले सिद्धान्त र आदर्शका कुरा गर्ने पार्टीहरू भित्र पनि सामन्ती संस्कार विद्यमान रहेकाले पार्टीहरू भित्रै पनि दलित जनप्रतिनिधिहरूविरुद्ध भेदभावको अवस्था देखिनु दुःखद रहेको बताए ।

उनले जनयुद्धको समयमा दलित मुक्तिको प्रश्नले स्पष्ट दिशा लिन थालेको र उक्त समयावधिमा भएका धेरै जसो अन्तरजातीय विवाहहरूले जातीय विभेद मेटिने आशा गरिएको भएपनि त्यस्ता परिवारहरू विघटित हुँदै जानु र दलितहरूको अवस्था पूर्ववत स्थितिमा फर्किनु चिन्ताजनक रहेको बताए ।

याे पनि पढ्नुस  कसैको दयाले यहाँ पुगेका होइनौं, एकताबद्ध भए जस्तो परिस्थिति पनि चिरिन्छ– प्रचण्ड

२००७ सालदेखि नै पछाडि पारिएकाहरूले अग्रगमनका निम्ति बलिदान दिने र परिवर्तनपछि बिस्तारै पुरानै वर्ग हावी हुँदै पहिलेपछाडि पारिएको वर्ग र समुदाय फेरि सीमान्तीकृत हुँदै जाने प्रवृत्ति देखा परेको प्रचण्डको जिकिर थियो ।

सांस्कृतिक अभियानहरू निरन्तर रूपमा नचलिराखे संविधान र कानुनमा उल्लेख भएका कुराहरू कागजका खोस्टामा मात्र सिमित हुने सम्भावना रहेकाले संविधानमा भएका कुराहरूको इमान्दार कार्यान्वयन र नभएका कुराहरूको प्राप्तिका लागि संविधान संशोधन गराउन समेत यस्ता संस्कृतिक अभियानहरू महत्वपूर्ण हुने प्रचण्डको भनाइ थियो ।

याे पनि पढ्नुस  पार्टी र सरकारविरुद्ध आक्रमणकाे व्यवस्थित प्रतिवाद गर्न प्रचण्डकाे निर्देशन

दलित मुक्तिको यात्रा लामो यात्रा रहेको र संस्कार बदल्ने कुरा रातारात हुनु सम्भव नभएकाले त्यस किसिमका अभियानहरू अथक रूपमा जारी रहनुपर्ने समेत अध्यक्षले बताए ।

आजको युग अग्रगमनको र उत्पीडितहरूले विजय प्राप्त गर्ने रहेको बताउँदै प्रचण्डले पार्टीको जुनसुकै तहमा पनि विभेदकारी व्यवहार भएको भए त्यसको जानकारी यथाशीघ्र पार्टी केन्द्र र सरकारमा पुगे त्यसको समाधान खोजिने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का १३ जिल्लाका दलित महिला नेतृत्वको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्