भारतविरुद्ध खेल्नुअघि दक्षिण अफ्रिकालाई झड्का: नखेल्ने भए डेल स्टेन

काठमाडौँ, जेठ २१ । जारी विश्वकपमा दुई खेल हारिसकेको दक्षिण अफ्रिकालाई फेरि अर्को झड्का लागेको छ । भारतविरुद्धको महत्वपूर्ण खेल खेल्नु अगाडि टीमका अनुभवी बलर डेल स्टेन चोटका कारण विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएपछि विश्वकपमा जीतको खाता खोल्न नसकेको दक्षिण अफ्रिका अझै संकटमा पर्रेको हो ।

काँधमा लागेको चोटका कारण स्टेनले यस अघिका दुई खेल पनि खेल्न पाएका थिएनन् । बुधबार भारतविरुद्ध उनी मैदानमा उत्रिने अनुमान गरिएको भएपनि उनलाई चिकित्सकले आराम गर्न सल्लाह दिएपछि उनी फिर्ता जाने भएका छन् । उनको सट्टामा बायाँ हाते फास्ट बलर ब्युरन ह्याण्ड्रिक्सलाई टीममा सामेल गरिएको छ ।

कस्तो छ स्टेनको स्वास्थ्य?

सन् २०१६ मा काँधको शल्यक्रिया गराएका स्टेनलाई दुई वर्षअघि अस्ट्रेलियाविरुद्धको शृंखलामा काँधमा समस्या देखिएको थियो । त्यसपछि उनले निकै कम खेले । २०१९ को आइपिएल मा सामेल भए पनि उनी थोरै समय मात्र मैदानमा देखिएका थिए । बंगलादेशसँग दक्षिण अफ्रिका पराजित भएपछि स्टेनले छोटो रनअपमा बलिङको अभ्यास गरेका थिए । यसलाई भारतविरुद्धको तयारीको रूपमा बुझिएको थियो । तर उनलाई असजिलो भएपछि उनी विश्वकपबाट बाहिरिएका हुन् ।

विश्वकपमा निकै आशालाग्दो टीम मानिने दक्षिण अफ्रिकाको यस पटकको विश्वकप यात्रा भने निकै निराशाजनक देखिएको छ । उद्घाटन खेलमा घरेलु टोली इङ्ल्याण्डसँग नराम्रोसँग हार व्यहोरेको दक्षिण अफ्रिकालाई तुलनात्मक रूपमा कम्जोर मानिएको बंगलादेशले पनि नराम्ररी हराइदिएपछि विश्वकपमा उसको अवस्था निकै रक्षात्मक बन्न पुगेको छ ।

पुरै टीम घाइते

दक्षिण अफ्रिकाको टीमका सदस्यहरू मध्ये धेरै कुनै न कुनै प्रकसका चोटले पीडित छन् । बंगलादेशविरुद्धको खेलमा पनि उसका प्रमुख बलर लुंगी एनगिडीको खुट्टा सर्किएका कारण खेल छोडेर बाहिर गएका थिए । उनलाई चिकित्सकहरूले दुई हप्ता नखेल्न भनेका छन् ।  

त्यस्तै प्रमुख ब्याट्सम्यान हाशिम अमलालाई इङ्ल्याण्डविरुद्धको खेलमा जोफ्रा आर्चरको एउटा बाउन्सर हेल्मेटमा लागेको थियो । ९० किलोमिटर प्रतिघन्टाको गतिमा आएको बल लागेर उनी रिटायर भएका थिए र उनले बंगलादेशविरुद्ध खेल्न पाएनन् । उनले टाउको दु:खेको बताएकाछन् र उनी भारतविरुद्ध खेल्न सक्ने या नसक्नेबारेमा खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्