तीन इन्जिनियरसहित १० जनाविरुद्ध अख्तियारद्वारा मुद्दा

काठमाडौं, जेठ २२ । खेलकुद मैदान निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन जिल्ला समन्वय समिति, कास्कीमा कार्यरत भई हाल रूपा गाउँपालिकामा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सबइन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समितिमा कार्यरत भई हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै, तत्कालीन मादी गाउँपालिका–७ का वडासचिव हाल अवकाशप्राप्त पोखरा लेखनाथ महानगरपालिका–११ बस्ने रामकृष्ण बास्तोला, तत्कालीन जिल्ला समन्वय समितिको कार्यालय कास्कीका लेखा अधिकृत पदमा कार्यरत रही हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत झलकप्रसाद आचार्य, तत्कालीन जिल्ला समन्वय समितिका लेखापाल हाल पोखरा लेखनाथ महानगरपालिकामा कार्यरत विष्णुप्रसाद बराल, चिप्ली खेलकुद मैदान निर्माण समितिका अध्यक्ष हर्क गुरुङ, सचिव तारामान गुरुङ र कोषाध्यक्ष गौसुवा गुरुङविरुद्ध मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार दुई लाख १२ हजार तीन सय रुपैयाँको काम भएको देखाएर अनियमितता भएको हो । तर, खेलकुद मैदान निर्माणमा ९८ हजार नौ रुपैयाँ मात्र खर्च भएको थियो । ५१ हजार एक सय ९८ रुपैयाँबराबरको जनश्रमदान भएको थियो । खेलकुद मैदान निर्माणमा झन्डै ७० प्रतिशत बजेट अनियमितता भएको आयोगले जनाएको छ । स्थानीयबाट आएको उजुरीका आधारमा आयोगले छानबिन गरी मुद्दा दायर गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्