विश्वका यी मुलुक जहाँ निःशुल्क सार्वजनिक गाडी चढ्न पाइन्छ

काठमाडौं, जेठ २२ । हाम्रो मुलुकमा सार्वजनिक यातायात निःशुल्क नभए पनि वृद्धवृद्धा र विद्यार्थीलाई परिचयपत्रका आधारमा केही छुटको व्यवस्था गरिएको छ। तर विश्वका कतिपय मुलुक र सहरमा सार्वजनिक यातायातमा पूरै निःशुल्क गर्ने तयारी भइरहेको छ।

लेक्जेम्बर्ग
जर्मनी, बेल्जियम तथा फ्रान्सले घेरिएको यो मुलुक सार्वजनिक यातायातका सबैका लागि निःशुल्क बन्ने गर्ने पहिलो मुलुक बन्दै छ। यो योजना सन् २०२० मार्चमा लक्जेम्बर्गमा लागू हुँदै छ।

इस्टोनियाको राजधानी टालिन
बाल्टिक सी तथा फिनल्यान्डको खाडीको सीमामा रहेको इस्टोनियाको राजधानी टालिनमा ५ वर्ष पहिले सन् २०१३ मा सार्वजनिक यातायात निःशुल्क गरिएको थियो। यो योजना यति लोकप्रिय भयो कि इस्टोनिया सरकार अब पूरै देशको बसयात्रा निःशुल्क गर्ने योजनामा लागेको छ।

बेल्जियमको हस्सेल्ट
हस्सेल्ट बेल्जियमको लिम्बर्ग प्रान्तको राजधानी हो। यहाँ सार्वजनिक यातायातमा १९९७ देखि भाडाको अन्त्य गरिएको थियो। यो योजनालाई १९ वर्षपछि अन्त्य गरिएको थियो। अझै पनि १९ वर्ष मुनिका मानिसले यहाँ निःशुल्क यात्रा गर्न सक्छन्।

जर्मनीमा पनि तयारी
जर्मनी सरकारले सर्वाधिक प्रदूषित सहरमा सार्वजनिक यातायात निःशुल्क गर्ने योजना बनाएको छ। यसो गर्नाले धेरैभन्दा धेरै मानिस आफ्नो सवारीसाधन छाडेर सार्वजनिक यातायातका साधनमा यात्राका लागि आकर्षित हुने अपेक्षा सरकारको छ। यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्