नियमविपरित संचालन भएको दुई औषधी पसलमा शिलबन्दी

कञ्चनपुर, जेठ २२ । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेका दुई वटा औषधि पसलमा शिलबन्दी गरिएको छ।

झलारी बजारको पिपलाडी रोडमा रहेको अशोक क्लिनिक र मेनरोड झलारीमा रहेको शुभम बासुलिङग एग्रोभेटमा मंगलबार शिलबन्दी गरिएको हो । औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको टोलीले नियमविपरीत सञ्चालन भएको पाएपछि शिलबन्दी गरेको हो ।

अशोक क्लिनिक दर्ता नभई सञ्चालन भएको टोलीले जनाएको छ । उक्त क्लिनिकमा मापदण्डविपरीतका औषधि बिक्री गर्दै आएको, यौन उत्तेजना जगाउने, गर्भपतन गराउने औषधि पनि बिक्रीका लागि राखेको अनुगनका क्रममा पाइएपछि शिलबन्दी गरिएको विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत विजय कार्कीले बताए । सुभम बासुलिङ एग्रोभेटको दर्ता प्रमाणपत्र स्पष्ट नदेखिएको र कैलालीको अत्तरियामा सञ्चालन गर्ने अनुमति पाएको भए पनि ठाउँ सारी नगरी झलारीमा सञ्चालन भइरहेको बताइएको छ ।

उक्त मेडिकलमा पनि अवैध र म्याद गुज्रेका औषधि समेत फेला परेका टोलीले जनाएको छ। दुवै सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ । अवैध र म्याद गुज्रिएको औषधि बिक्रीबारे अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइने कार्यालयले बताएको छ।

कमेन्ट गर्नुहोस्