इद पर्वको अवसरमा देशभर सार्वजनिक बिदा

काठमाडौं, जेठ २२ । मुस्लिम समुदायले बुधबार आफ्नो महान् पर्व इद उल फित्र देशभर धूमधामका साथ मनाउँदै छन्।

उक्त पर्वका अवसरमा सरकारले बुधबार देशैभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबारै सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।

एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तर इद उल फित्र बुधबार नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबार बिदा दिएको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरिसकेको छ । चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले बुधबार नै बिदा दिन सरकारलाई अनुरोध गरिएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले जानकारी दिए।

कमेन्ट गर्नुहोस्