आजपनि देशभर वर्षा हुने सम्भावना, किन दिनहुँ वर्षा हुन्छ ?

काठमाडौं जेठ २२ । बुधबार पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज पूर्व र मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना देखिएको छ । पूर्वी क्षेत्रमा अहिले मौसम बदली हुने क्रम बढ्दै गएको र कुनै पनि बेला वर्षा हुने अवस्था रहेको उनले बताए ।

उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य क्षेत्रमा पनि अहिले मौसम बदली भएको छ। ‘काठमाडौंमा दिउँसा या साँझपख पानी पर्न सक्छ,’ उनले भने, ‘काठमाडौंमा बिहान एकरदुई स्थानमा छिटफुट वर्षा भइसकेको छ ।’ तर हावाहुरीको सम्भावना नरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

यसैगरी आज साँझपख पश्चिम पहाडी क्षेत्रमा अपराह्नपछि वा साँझपख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तरऽ पश्चिमी तराईमा भने आजपनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । ‘पश्चिमी तराईमा आजपनि पानी पर्ने प्रणाली बलियो देखिएको छैन,’ मौसमविद् श्रेष्ठले भने, ‘तर मौमस बदली भएकाले तापक्रम चाहिँ घटेको छ ।’

किन दिनहुँ भइरहेको छ वर्षा ?

ठूलो पानी नपरे पनि केही दिनयता विशेषगरी साँझपख मुलुकका कुनै न कुनै स्थानमा पानी परिरहेको छ ।

मौसमविद्का समीर श्रेष्ठका अनुसार केही दिनयता दिनहुँ पानी पर्नाका मुख्य कारण बंगाल खाडीबाट आइरहेको जलवाष्पयुक्त हावा हो । नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने उक्त हावाका कारण केही दिनयता दिनहुँ वर्षा भइरहेको उनको भनाइ छ ।

साथै वायुमण्डलको माथिल्लो तहमा पश्चिमी वायुको प्रभावले पनि मौमस बदली तथा वर्षा गराउन मद्दत पुगेको उनको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म मौसम खुल्ने सम्भावना छैन । बुधबारदेखि तीन दिनसम्म अधिकांश स्थानमा बदली भई विभिन्न ठाउँमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

कमेन्ट गर्नुहोस्