वीरगञ्ज महानगरद्वारा ३९ प्रधानाध्यापकको सरुवा

पर्सा, जेठ २२ । राजनीतिक पूर्वाग्रहका आडमा वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको छ ।

महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी संयोजक रहेको शिक्षा समितिले आफू निकटका प्रधानाध्यापकलाई भनेको सहज ठाउँमा पार्दै मंगलबार ३९ प्रधानाध्यापकको सरुवा गरेको खुलासा भएको हो । मंगलबार बसेको महानगरपालिकाको शिक्षा समितिको बैठकले सुटुक्क प्रधानाध्यापकहरूको सरुवा गरेको समितिमा आबद्ध सदस्यहरुले बताए ।

आफूहरूको विरोध बाबजुद पनि नगरप्रमुखले एकलौटी ढंगले प्रधानाध्यापकहरूको सरुवा गरेको उनीहरूको भनाइ छ। नगरप्रमुख सरवगीले ३९ जना प्रधानाध्यपकहरूको सरुवा गरेको कुरा भने सही भएको स्वीकारे । ‘३९ प्रधानाध्यापक सरुवाको निर्णय त भइसक्यो, तर निर्णय सार्वजनिक गर्न मिल्दैन’, उनले भने। केही प्राविधिक कुरा मिलाउनुपर्ने काम बाँकी नै रहेकोले अहिले नै सरुवा भएका प्रधानाध्यापकहरूको नाम सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ ।

आन्तरिकरूपमा आर्थिक चलखेल गरी बढी नजराना दिनेलाई राम्रो ठाउँमा सार्ने दाउ भइरहेका कारण निर्णय सार्वजनिक नगरिएको समिति भित्रकै सदस्यहरू बताउँछन् । शिक्षा समितिमा उनी निकटकै अधिकांश सदस्य भएकोले बैठकमा उपस्थिति र निर्णयमा हस्ताक्षर नै नगराई पेलेर जान खोजेको समिति सदस्य मनोजा चौधरीले बताइन् । ‘असहमति राख्दा बस्न मन लागे बस्ने, नत्र जाने भनिने गरिएको छ’, उनले भनिन्, ‘न बैठकको कुनै एजेण्डा प्रकृयागत ढंगले ल्याइयो ? न त सदस्यहरुसँग कुनै छलफल नै भयो ।’ पूर्वाग्रही ढंगले नगरपालिकाले सरुवा गरेको भन्दै ती प्रधानाध्यापकहरू भने चिढिएका छन् । गत पुस महिनामा पनि नगरप्रमुखले ८ प्रधानाध्यापक सरुवा गरेका थिए । यसको विद्यार्थी आक्रोशित भई तोडफोड उत्रिँदा प्रहरीसँग झडपसमेत भएको थियो ।

कमेन्ट गर्नुहोस्