पशुपति मन्दिरमा ९ किलो सुन र एक अर्ब रुपैयाँ जम्मा

काठमाडौं, जेठ २२ । पशुपतिनाथ मन्दिरमा नौ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको विवरण प्राप्त भएको छ । पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवम् छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा २०७५ सालसम्ममा त्यस परिमाणको सुन जम्मा भएको उल्लेख गरिएको हो ।

त्यसैगरी ३ सय १६ किलो ५ सय ८६ ग्राम चाँदी पनि पशुपतिनाथ मन्दिरमा रहेको पाइएको छानबिन समितिका संयोजक डा. मिलनकुमार थापाले जानकारी दिए । समितिका अनुसार त्यो विवरण विक्रम संवत २०१९ सालदेखि २०७५ सालसम्मको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षसमेत रहनु भएका थापाले विक्रम संवत २०१९ सालभन्दा अघिको विवरण भने प्राप्त हुन नसकेको पनि स्पष्ट पारे ।

पशुपतिनाथ मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा गरिएको छ । छानबिन समितिका अनुसार त्यसमध्ये एक अर्ब अक्षय कोष स्थापना गरी सामाजिक सेवाको क्षेत्र तथा विपद् व्यवस्थापनमा खर्च गर्ने गरिएको छ । समितिका संयोजक थापाले हाल मन्दिरको दर्ता प्रमाणित भएका जग्गा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको पनि जानकारी दिए ।

प्रतिवेदनमा पशुपतिनाथ मन्दिरको दर्ता प्रमाणित हुन बाँकी रहेका जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको पनि त्यस छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । उज्यालो अनलाइनबाट

कमेन्ट गर्नुहोस्