‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ हाम्रो अभियान होः प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरैपिच्छे फलफूल, घरैपिच्छै रुख’ भन्ने सरकारको राष्ट्रिय अभियानमा सामेल हुन सबैलाई आह्वान गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा आज भिडियो सन्देश दिँदै उनले जमीन अझ हराभरा बनाउन यस वर्षलाई फलफूल तथा वृक्षरोपण वर्षका रुपमा मनाउँदै अभियानलाई निरन्तरता दिइएको बताए ।

गत वर्ष फलफूलका बिरुवा रोप्ने महाअभियान चलाएर देशभर करीब २३ लाख फलफूलका विरुवा रोपिएको जानकारी उनले दिए । हरेक वर्षजस्तै आज नेपालमा पनि ‘स्वच्छ वायु स्वस्थ्य जीवन’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ । कुल जमीनको करीब ४५ प्रतिशत भूभाग वन क्षेत्र तोकिएको बताइएको छ ।

पृथ्वीमा अस्वाभाविक ढङ्गले जलवायु परिवर्तन भइरहेको र वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढाउँदै यस परिवर्तनलाई तीव्रता दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । “यसका कारण हाम्रा हिमाल पग्लिरहेका छन् । अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि, भूक्षय, बाढीपहिरो जस्ता विपत्तिहरु बढिरहेका छन्”, उनले भनेका छन् ।

दूषित हावाबाट वर्षेनी ७० लाखको मृत्यु
हामीले खाने खाना, पिउने पानी र श्वास फेर्ने हावासमेत प्रदूषित हुँदै गइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक वर्ष विश्वभर दूषित हावाकै कारण करीब ७० लाख मानिसको मृत्यु हुने गरेको बताएका छन् । वायुमण्डलमा बढ्दै गएको प्रदूषण कम गर्न सबैले आफ्ना ठाउँबाट पहल गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।

स्वच्छ वातावरणमा जीवनयापन गर्ने र बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरिएको तथा सन्तुलित, दिगो एवं तीव्र आर्थिक र सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने सरकारको मूल नीति रहेको सन्देशमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्