वन संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्छः राष्ट्रपति भण्डारी

बाँके, जेठ २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौसम परिवर्तन विश्वकै लागि चुनौती भएको भन्दै वातावरण संरक्षणमा जुट्न सबैलाई आग्रह गरेकी छिन् । उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।

विश्व वातावरण दिवसका अवसरमा नेपालगञ्जमा आज आयोजित वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्याशाला गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि सरकारले नै आवश्यक रणनीति तय गर्न आग्रह गरिन् ।

उनले भनिन्, “प्रकृति र मानवबीचको अभिन्न सम्बन्ध छ । प्राकृतिक वातावरण यथावत् राख्न र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्छ । जलवायुसम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीयस्तरसम्म सञ्चालन गर्नुपर्ने खाँचो छ ।”

स्वच्छ वायु कायम गर्ने साझा दायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले भनिन्, “हामी प्राकृतिक प्रकोप व्यहोर्न बाध्य छौं । जलवायु परिवर्तनमा हाम्रो भूमिका न्यून भए पनि हामीले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ । पानीका स्रोतहरु सुक्न थालेका छन् । यसका लागि स्थानीय समुदायलाई जागरुक हुन जरुरी छ ।”

जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हुँदै गएको भन्दै राष्ट्रपति भण्डारीले भनिन्, “हामीलाई वन र प्रकृति जोगाउनुपर्ने साझा चुनौती छ । संरक्षणमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला आएको छ । यसमा सबैको हातेमालो जरुरी छ ।”

आगामी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवं संवद्र्धन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न राष्ट्रपति भण्डारीले सबैमा अपिल गरिन् । उनले भनिन्, “जलवायु परिवर्तनको प्रभाव वातावरणीय ह्रास विकास र वातावरणबीचको सन्तुलनलाई सम्बोधन गरी प्रत्यक्ष तथा स्वच्छ वातावरण सिर्जना गर्न हामी सबै गम्भीर भएर लाग्नुपर्दछ ।”

कमेन्ट गर्नुहोस्