विश्वकपको पहिलो खेलमै रोहितले बनाए शतक

काठमाडौं, जेठ २२ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध भारतका ओपनर रोहित शर्माले शतक बनाएका छन् । उनले १० चौका र २ छक्काको मद्दमा १२८ बलमा शतक बनाएका हुन् । रोहित जारी विश्वकपमा शतक बनाउने तेस्रो खेलाडी बनेका छन् । यसअघि यो सिजनमा इंग्ल्याण्डका जो रुट र जस बटलरले शतक बनाइसकेका छन् ।

आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको द. अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो । उसका लागि क्रिस मोरिसले सर्बाधिक ४२, कप्तान फाफ डुप्लेसिसले ३८, डेभिड मिलरले ३१, रस्सी भान डर ड्युसनले २२, एन्डीले फेहलक्वायोले ३४, क्विन्टन डि ककले १०, हसिम अमलाले ६, जेपी ड्युमिनीले ३ र कागिसो रबाडाले नट आउट ३१ रन बनाए । बलिङमा भारतका युजवेन्द्र चहलले ४, जसप्रित बुमराह, भुवनेश्वर कुमारले २–२ र कुलदीप यादवले एक विकेट लिए । 

पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका अप्ठ्यारो स्थितीमा आएको छ । आजको खेलमा पनि दक्षिण अफ्रिका पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ । 

यता, भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । कमजोर देखिएको दक्षिण अफ्रिकाविरुद्ध स्पष्ट जित हात पार्दै  सुखद् सुरुवात गर्ने लक्ष्यमा भारत छ । तर भारतलाई पराजित गर्दै पहिलो जित हात पार्ने दाउँमा दक्षिण अफ्रिका छ ।

कमेन्ट गर्नुहोस्