आज पनि नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, जेठ २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान बसेको बैठक स्थगित भएको हो । जिल्ला कमिटीका इञ्चार्ज र सह इञ्चार्ज चयनमा नेताहरुबीचमा नै सहमति हुन नसक्दा बैठक स्थगित हुन पुगेको हो ।

जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुंगो लाग्न नसक्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको छ । बैठकमा इञ्चार्ज र सहइञ्चार्जको बारेमा छलफल भए पनि अन्य विषय छलफलमा प्रवेश गर्न नसकेको नेताहरु बताउँछन् ।

थप गृहकार्य आवश्यक भएको भन्दै बैठक स्थगित भएको र अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागिनसकेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताए । सहमति जुटाउन नेताहरुबीच छुट्टा छुट्टै छलफल हुँदै आएको भए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । शुक्रबारसम्ममा पनि सहमति नजुटे जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो दुई साता पछि सर्ने छ ।

शनिबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ९ दिन लामो युरोप भ्रमणमा निस्कँदै छन् ।

कमेन्ट गर्नुहोस्