सुदर्शनलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई आदेश

काठमाडौं, जेठ २४ । नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । गौतम क्यानडामा बस्दै आएका छन् । उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको छ ।

गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम रेड नोटिस जारी भएकाले जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरीको भनाइ छ ।

चलचित्रमा अभिनय गरेका गौतमले कलाकार बनाएर नेपालीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने गरेका थिए । त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौँपछि अलपत्र परेर फर्किएका थिए । दुई वर्षअघि गौतमकै समूहले तीन युवतीलाई कलाकार बनाएर हाइटी पुर्याएको थियो । दिल्लीबाट रसिया, स्पेन, बोगोटा, डोमेनिकन रिपब्लिका हुँदै हाइटी लगिएको थियो । हाइटीमा एक कम्पनी खडा गरी सिनेमाको सुटिङका लागि भनेर उनीहरूलाई सहजै त्यहाँसम्म पुर्याइएको थियो । यो समाचार आजको नयाँ पत्रिकाबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्