भरतपुर विमानस्थलको धावनमार्ग मर्मत हुँदै

चितवन, जेठ २४ । भरतपुर विमानस्थलको धावनमार्ग १७ वर्षपछि मर्मत हुन लागेको छ । सन् २००२ मा कालोपत्रे गरिएको यस विमानस्थलको धावनमार्ग अहिले ओभर–ले (कालोपत्रेमा थप्ने कार्य) गर्ने काम सुरु भएको हो । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले भने, कालोपत्रे गरेको लामो समय भयो, भत्किएर टाल्ने काम भएको थियो अब पूरै ओभर–ले हुँदैछ ।

अहिले भइराखेको कालोपत्रे माथि अर्को पिच थप्नका लागि प्राविधिकले काम गरिराखेका छन् । असार मसान्त अगाडि नै काम सम्पन्न गर्ने गरी काम सुरु भएको छ । प्रमुख गौतमले भने, यही जेठ १५ गतेबाट धावनमार्गको छेउमा रहेको झार हटाउने, सफा गर्ने काम भइराखेको छ । जहाजको उडान सङ्ख्या धेरै भएकाले धावनमार्गको मर्मतमा समस्या देखिएको छ ।

भरतपुर विमानस्थल आयोजना प्रमुख हिमज्योति थापाले भने, अहिले भइराखेको पिचमा ६ सेन्टिमिटर मोटाइ थप्ने काम हुँदैछ । आवधिक मर्मतअन्तर्गत यो कार्य भएको उनले बताए । हरेक ७ देखि १० वर्षभित्रमा यस्तो काम हुनुपर्नेमा यहाँ लामो समयपछि हुन थालेको छ । आयोजना प्रमुख थापाका अनुसार नौ करोडको लागतमा धावनमार्गमा कालोपत्रे, पार्किङ, ढललगायतको काम हुँदैछ ।

काठमाडौं भरतपुरको उडान सङ्ख्या थपिँदै जाँदा त्यसको असर पिचमा देखिएको कार्यालयले जनाएको छ । १२ सय मिटर लम्बाइ रहेको यहाँको धावनमार्गको मर्मतपछि जहाज सुरक्षित अवतरण गर्न सकिने आयोजनाले जनाएको छ । धावनमार्ग कालोपत्रे गर्ने भएपछि यहाँको उडान समय बिहान ९ः३० देखि बेलुका ३ बजेसम्म मात्र रहेको छ । अन्य समयमा भने धावनमार्गको मर्मत कार्य भइरहने आयोजना प्रमुख थापाले बताए ।

अहिले कालोपत्रेको दायाँबायाँ झार हटाउने र असार मसान्तसम्म ओभर–ले गरिसक्ने लक्ष्य रहेको छ । अन्य काम भने आउँदो एक वर्षभित्र सकिने टेन्डर समय रहेको थापाले बताए । वि.सं. २०१५ देखि सेवा सुरु गरिए पनि विधिवत् रूपमा २०१८ सालमा तत्कालीन हवाई सेवा विभागअन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको थियो ।

भरतपुर विमानस्थलबाट एकतर्फी रूपमा दैनिक औसतमा पाँच सय यात्रुले यात्रा गर्दै आएका छन् । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । धावनमार्ग २०० मिटर छोडेर विमान अवतरण गरिँदै आएको छ । साना जहाजलाई उडान र अवतरणमा ६०० देखि ८०० मिटर धावनमार्ग भए पुग्छ । ठूला जहाजलाई भने एक हजार ४०० मिटर जरुरी पर्छ ।

कमेन्ट गर्नुहोस्