मालपोत कार्यालय चावहिलका नासु घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ जेठ २४ । मालपोत कार्यालय चावहिलका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

श्रेष्ठले सेवाग्राहीको गोकर्णेश्वर नगरपालिकाका–४ मा रहेको १५ आना दुई दाम जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा रहेको र सो मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरेका थिए ।

सेवाग्राहीसँग पटक पटक रकम माग भएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई दुई हजार घुस रकमसहित कार्यालय नजिकैबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्