शुक्रबारदेखि राप्रपाको दोस्रो चरणको स्वाभिमान यात्रा मुक्तिनाथबाट सुरु

मुस्ताङ जेठ २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)को दोस्रो चरणको स्वाभिमान यात्रा शुक्रबारदेखि मुस्ताङबाट सुरु भएको छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक अनुष्ठान गरी अध्यक्ष कमल थापाले दोस्रो चरणको स्वाभिमान यात्रा शुभारम्भ गरेका छन् । अनुष्ठानमा पार्टी अध्यक्ष थापाका अलावा बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ,नेताहरु भीमप्रसाद गौचन, तोरण गुरुङ, हेमजङ्ग गुरुङ, सुशील श्रेष्ठ, भुवन पाठक लगायत नेताहरु सहभागी थिए।

अनुष्ठानपछि रानिपौवामा आयोजित सभालाई अध्यक्ष थापाले सम्बोधन गरेका छन् । यसैगरी मुस्ताङ सदरमुकाम जोमसोममा आयोजित सभालाई पनि थापाले सम्बोधन गरे । सम्बोधनका क्रममा अध्यक्ष थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको चर्चा गर्दै सर्ब धर्म समभाव सहितको हिन्दुराष्ट्र आबश्यक भएको बताए । सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किराँत धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने पनि उनले बताए।

अध्यक्ष थापाले त्यसक्रममा बेनी–जोमसोम–कोरला मार्ग निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गरे। वरिष्ठ उपाध्यक्ष तामाङले देशको राष्ट्रियता ,धर्म संस्कृति र पहिचानमाथि चौतर्फी हमला भईरहेको भन्दै त्यसको जगेर्नाको निमित्त जनता जागरुक हुनुपर्नेमा जोड दिए।

मुक्तिनाथबाट शुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्बत, कास्की, लमजुङ हुँदै जेठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्