नेकपामा कार्यदिशा स्पष्ट पार्न कार्यकर्ताहरुको ठूलो दबाब

विगतमा टाँस्सिएर बस्न नसकिने पूर्व माओवादी कार्यकर्ताको धारणा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिएको विषयले सिर्जना भएको राजनीतिक तरङ्गले पार्टीको राजनीतिक विचार विकास गर्न ठूलो दबाब दिएको छ ।

पार्टी एकता हुँदाको सहमति सार्वजनिक भएसँगै कार्यकर्ता तहमा पार्टीको भावी कार्यदिशाका बारेमा चर्को बहस सुरु भएको हो ।

पूर्व एमालेका शीर्ष नेता इश्वर पोखरेलले पार्टी एकता हुँदा दुबै पार्टीबीच राजनीतिक कार्यदिशाका बारेमा एकखाले सहमति भएपनि नेकपाको भावी कार्यदिशा जनताको बहुदलीय जनवाद नै हुने बताएसँगै यो बहस झन चुलिएको हो ।

नेता पोखरेलको विचारलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले समेत समर्थन गरेका छन् । पूर्व एमालेकै कतिपय शीर्ष र दोश्रो तहका नेताहरुले भने बहुदलीय जनवादको सन्दर्भलाई वर्तमान विश्व र नेपालको परिस्थिति तथा नेपाली समाजको विकासक्रमसँग परिमार्जन गर्नुपर्ने धारणा राखेका छन् ।

ध्यान दिनुपर्ने पक्ष चाहिँ के छ भने पूर्व नेकपा एमालेभित्र जबजको पक्षमा बलियो मत देखिएपनि पूर्व माओवादी केन्द्रभित्र भने कार्यदिशालाई जडरुपमा लिन नसकिने विचार बलवति देखिन्छ । नेपाली समाज विगतको अवस्थामा नरहेको, श्रम तथा उत्पादनसम्बन्ध र विश्वको राजनीतिक अन्तरविरोध तथा सूचना र प्रविधिमा देखिएको गुणात्मक परिवर्तन र विकासका आधारमा पार्टीको भावी कार्यदिशा निर्माण गर्नुपर्ने र यसका लागि विगतमा नै टाँसिन नसकिने उनीहरुले बताइरहेका छन् । त्यसैले नेकपाका अधिकांश नेता तथा कार्यकर्ताहरुले माओवाद या एक्काइसौं शताब्दी जनवादलाई मात्रै अघि सारेको देखिन्न । जबकि एमालेभित्र भने मदन भण्डारीले सामन्तवादी राजतन्त्रात्मक राज्यव्यवस्था र सन नब्बेको दशकको विश्व परिस्थितिको आलोकमा विकास गरिएको जबजलाई नै बोक्ने संकेत देखिन्छ ।

यो अर्थमा हेर्दा माओवादी केन्द्रको राजनीतिक पृष्ठभूमि भएकाहरु बढी सिर्जनात्मक देखिएका छन् । तर यो सँगै उनीहरुले नेतृत्वले कार्यदिशाका बारेमा औपचारिक बहस सुरु गर्न समेत माग गरेका छन् ।

सामाजिक सञ्जाल र अनौपचारिक छलफलहरुमा पूर्व माओवादीबाट आएकाहरुले नेतृत्वले राजनीतिक विचारको संश्लेषण गरी दस्तावेज निर्माण गर्न र त्यसलाई तल्लो तहसम्म बहसमा लैजान माग गरेका हुन ।

२००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएपछि विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका वैचारिक समूहहरुसँगै नेपालमा पनि कम्युनिष्टहरुबीच वैचारिक आधारमा समूह निर्माण हुँदै आएको हो । तीसको दशकको मध्यदेखि आकार लिएको र चालिसको दशकको शुरुआतदेखि सघनरुपमा नै माओ स्कूलिङको विकास भएपछि कार्यदिशाका बारेमा गम्भीर बहस समेत शुरु भएको देखिन्छ । २०६२, २०६३ को जनआन्दोलनसँगै माओवादी शान्ति प्रक्रियामा अवतरण भएपछि यो बहस केही मत्थर देखिएपनि संविधानसभाको निर्वाचनपछि देश एउटा नयाँ चरणमा प्रवेश गरेपछि भने कार्यदिशाको अनिवार्यताको चरणमा नेपाली कम्युनिष्ट आन्दोलन पुगेको देखिन्छ ।

नेपालका अधिकांश कम्युनिष्ट पार्टीहरुले अबको रणनीतिक कार्यभार समाजवादी क्रान्ति बताइरहेपनि त्यहाँसम्म पुग्ने कार्यनीतिक चरण के हुन र राजनीतिक कार्यदिशा के हुने भन्ने विषयमा स्पष्टता देखाउन सकेका छैनन । अरु त अरु क्रान्तिको कुरा गर्दै सशस्त्र संघर्षको तयारीमा लागेको विप्लव समूहले समेत एकीकृत जनक्रान्तिका कार्यनीति चरणहरु स्पष्ट पार्न सकेको छैन । मोहन वैद्यकै शब्दमा विप्लवको कार्यदिशा रहस्यमयी छ । यता नेकपाको एकतापछि जनताको जनवाद तत्कालको संक्रमणकालिन कार्यदिशा बताएपनि त्यो भनेको के हो र त्यसका चरणहरुको बारेमा ब्याख्या देखिन्न ।


पूर्व माओवादीका कार्यकर्ता तथा समर्थकहरु भने क्रान्तिकारी कार्यदिशाको अभावमा पार्टी संसदवादमा फस्ने खतरा रहेको बताउँछन् ।

पूर्व माओवादीका कार्यकर्ता तथा समर्थकहरु भने क्रान्तिकारी कार्यदिशाको अभावमा पार्टी संसदवादमा फस्ने खतरा रहेको बताउँछन् । बहुदलीय जनवाद या बहुदलीय प्रतिष्पर्धामार्फत समाजवादमा पुग्ने कोरा कार्यदिशा मात्र अख्तियार गर्दा यसले वर्ग समन्वय र संसदवादमा फस्नेबाहेक केही नहुने उनीहरुको तर्क छ । त्यसैले सामाजिक र राजनीतिक परिवर्तनको प्रक्रियालाई सचेततापूर्वक धक्का दिन क्रान्तिकारी चरित्रको राजनीतिक कार्यदिशा आवश्यक रहने उनीहरुको जोड देखिन्छ । त्यसैले नेतृत्वबाट नै यो विषयलाई औपचारिकरुपमा बहसमा लैजान उनीहरुले जोड दिएको पाइन्छ ।

राजनीतिक परिवर्तनलाई धक्का दिन सिपालु प्रच(ण्डबाट उनीहरुले ठूलो आशा राखेका छन् । यथास्थितिमा बस्न मन नपराउने प्रचण्डले संविधान निर्माणपछिको परिस्थितिमा नेपालको समाजवादी क्रान्तिको आधार तयार पार्न सोही किसिमले विगतको संश्लेषण गरेर कार्यदिशा तयार गरी बहसमा ल्याउने उनीहरुको अपेक्षा देखिन्छ ।

पूर्व नेकपा एमालेभित्र पनि एउटा ठूलो हिस्साले विगतमा टाँसिनुभन्दा विचारको संश्लेषणसहित नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने बताइरहेका छन् । नेता घनश्याम भुसालहरुले यस विषयमा बारम्बार जोड दिएको समेत पाइन्छ । तर कार्यदिशाको मोटामोटी खाका भने अहिलेसम्म कुनै पक्षले अघि सारेका छैनन । सम्भवतः पार्टी एकताको सबै कार्यभार टुंगो लागेपछि यो विषयमा औपचारिक छलफल शुरु हुने आशा राख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्