भीमदत्तका मेयर उप–मेयर हावा हुरी पीडित वस्तीमा

महेन्द्रनगर, जेठ २४ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्द हावा हुरीबाट भएको क्षति स्थलगत निरीक्षणमा निस्किएका छन् । उनीहरुले पीडित वस्तीमा पुगेर क्षतिग्रस्त संरचनाको अवलोकन र पीडित वासिन्दासित भेटघाट गरी क्षतिको जानकारी लिई रहेका छन् ।

हावा हुरीले क्षति पुगाएका सबै वडामा स्थलगत निरीक्षण गरी क्षतिको यकिन जानकारी लिइने नगर प्रमुख विष्टले बताए । ‘कहाँ के कति क्षति भयो भनेर अहिले यकिन हुन सकेको छैन, प्रहरी लगायतले त्यसको विवरण संकलन गरिहेको छ’ उनले भने, ‘नगरका कुन वडामा कति क्षति भयो भनेर जानकारी लिन म र उप मेयर साप सहितको टीम वडा वडामा पुगि रहेका छौ ।’

सबै वडामा अध्यक्ष सहित सदस्यहरु क्षतिको विवरण संकलन र पीडित परिवारको सहयोगमा परिचालन गरिएका छन् । बिहीबार हावा हुरी आएपछि नगर प्रमुख विष्टले अध्यक्षलाई टेलिफोन गरी शुक्रबार परिचालन हुन निर्देशन दिएका थिए ।

‘सबै वडामा अध्यक्ष सहितको टोलीले पनि क्षतिको विवरण संकलन र पीडितलाई राहत सहयोगका लागि आवश्यक कार्यमा परिचालन गरिएको छ’ उनले भने । नगर प्रमुख विष्टले हावा हुरीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई सहयोगका लागि सबैसंगै आग्रह गरेका छन् ।

नगर प्रमुख विष्टको सचिवालयले विज्ञप्ति प्रकाशित गर्दै हावा हुरीबाट पीडित परिवारको व्यवस्थापन र राहत तथा घाइतेहरुको उपचारका लागि आवश्यक सहयोग गरिने जनाएो छ । ‘यो अप्ठेरो कठिन परिस्थितिमा सबै पक्षलाई सहयोग गर्न आग्रह गर्दछौ’ विज्ञप्तिमा भनिएको छ । हावा हुरीबाट पीडित परिवारलाई राहत तथा सहयोग र भौतिक पूर्वाधार निर्माणमा सहयोग गरिने प्रतिवद्धता गरिएको छ ।

नगर प्रमुख विष्टले प्राकृतिक विपद् रोकथामका लागि पूर्व तयारीका लागि कार्यक्रम सञ्चालन गर्न नगरपालिका ठोस कार्यक्रम लागू गरिने बताएका छन् । ‘प्राकृतिक विपत्ति कति बेला आउँछ, थाहा हुँदैन, त्यसको पूर्व रोकथामका लागि ठोस योजना बनाएर जान्छौ’ उनले भने, ‘यसमा सबै सरोकारवाला निकायसित समन्वय गरी जान्छौ ।’ भीमदत्त नगरपालिकामा विपद् जोखिम न्यूनीकरणका लागि गत वर्ष नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यविधि पारित गरिएको थियो ।

आधा घण्टासम्म आएको हावा हुरीले भीमदत्त नगरपालिका जिल्लाभर व्यापक नोक्सान पुगाएको छ । हावा हुरीमा परी दर्जनौ घाइते भएका छन् । भीनपा वडा नं. १८ की इभान चौधरी (७), बाराकुण्डाकी सृजना धामी (२४) ऐरीकी डम्बरी देवी कठायत (४५) घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि भारत रिफर गरिएको छ ।

कमेन्ट गर्नुहोस्