होटलका बाउन्सरद्वारा ग्राहक कुटिए

बारा, जेठ २५ । सिमरामा रहेको इच्छा होटलका बाउन्सरले शुक्रबार राति तीन जनालाई मरणासन्न हुने गरी कुटेका छन् । सिमराका विजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते बाउन्सरको कुटाईबाट घाइते भएका हुन् ।

घाइतेलाई होटलबाट प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि घाइते मध्येका पाठकलाई राति नै काठमाडौं पठाइएको परिवारले जनाएको छ ।

अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ । कुटपिट हुन थालेपछि पुडासैनीले भागेका थिए । अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिइ कुटपिट गरेका थिए । प्रहरीले उल्टै घाइतेलाई पक्राउ गर्न खोजेपछि स्थानीय युवाले विरोध गर्दा अस्पतालमा केहीबेर तनाव भएको थियो ।

घाइतेलाई पक्राउ गर्न पुगेका २० बढी प्रहरी स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि फर्किएका थिए । ग्राहकलाई मरणासन्न हुनेगरि कुट्ने बाउन्सर र कर्मचारीलाई कारवाही गर्न माग गर्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले होटलबाट फोन आएपछि पुगेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको बताए । घटनाबारे छानविन भएकाले उनले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

कमेन्ट गर्नुहोस्