नेइमारमाथि बलात्कारको आरोप लगाउने युवतीले दिइन अन्तर्वार्ता

चर्चित फुटबल खेलाडी नेमारले आफूलाई बलात्कार गरेको आरोप लगाएकी एक महिलाले सो विषयमा अन्तर्वार्ता दिएकी छन्।

गत शुक्रवार नेमारविरुद्ध उजुरी दर्ता गरेकी नाजिला त्रिन्दाजीले टेलिभिजन च्यानल एसबीटी ब्रसिललाई मे १५ मा प्यारिसको होटलमा आफूमाथि कुटपिट र बलात्कार भएको दाबी गरिन्।

नेमारले उक्त आरोपको खण्डन गरेका छन् र आफू निर्दोष भएको प्रमाण दिन ह्वाट्सएपमा दुई जनाबीच फोनमा भएको कुराकानी सार्वजनिक गरेका छन्।

नेमारले बुधवार भएको एउटा अन्तर्राष्ट्रिय खेलमा आफ्नो टोलीका थोरै समय खेले। उनले उक्त खेल आफ्नो जीवनको सबैभन्दा कठिन खेल भएको बताएका छन्।
कतारविरुद्ध भएको खेलको २० मिनेटमै नेमार घाइते भए। उनले अब निकट भविष्यमा हुन लागेको कोपा अमेरिका प्रतियोगिता खेल्न पाउनेछैनन्।

महिलाले अन्तर्वार्तामा के भनिन्?

त्रिन्दाजीले आफू नेमारप्रति आकर्षित भएको र उनीसँग सम्भोग गर्ने इच्छा भएको स्वीकारेकी छन्।

आफूलाई विमानबाट प्यारिस पुर्‍याइएको र त्यहाँ नेमारकै खर्चमा एउटा होटलमा राखिएको पनि उनले दाबी गरिन्।

त्रिन्दाजीले आफू एउटा “सामान्य मोडल र इन्टिरियर डिजाइन विषयकी विद्यार्थी” र एउटी “छोरी र आमा” भएको बताएकी छन्।

अन्तर्वार्ताका क्रममा उक्त घटना कुटपिट वा बलात्कार के थियो भनी सोधिएको प्रश्नको उत्तर दिँदै त्रिन्दाजीले भनिन्, “त्यो कुटपिट र बलात्कार दुवै थियो।”

भेटमा नेमारलाई “निकै आक्रमक पाएको र फोनमा सन्देश आदानप्रदान गर्दाको केटाभन्दा निकै भिन्न पाएको” उनले बताइन्।

पहिला आपसी सहमतिमा सम्भोग गर्न तयार रहेको तर त्यसका लागि आफूले कन्डम प्रयोग गर्न आग्रह गरेको त्रिन्दाजीले बताइन्।

तर नेमारले त्यसो गर्न अस्वीकार गरेको, फेरि आक्रमक भएको र आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन्।

नेमारलाई उक्त कार्य रोक्न आफूले भनेको तर उनले अस्वीकार गरेको पनि त्रिन्जादीले बताइन्।

Source: BBC Nepali Online edition

कमेन्ट गर्नुहोस्