असार नलाग्दै धमाधम धान रोपाइ सुरु

लमजुङ, जेठ २६ । लमजुङका किसानले खेतमा लगाएको आलु, गहुँ थन्काएर धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न सुरु गरिएको हो ।

मस्र्याङदी गाउँपालिका–५, घेर्मुका किसान यतिबेला धमाधम धान रोप्दैछन् । स्थानीय शङ्कर घलेका अनुसार तीन-चार दिन अघिदेखि गाउँको घेर्मुफाँटबाट धान रोप्न थालिएको हो । फाँटमा पानीको व्यवस्था राम्रो भएकाले असार नलाग्दै किसानले धान रोप्न सुरु गरेका हुन् । स्थानीय तुलसी गुरुङका अनुसार गाउँमा मार्सी र एक्ले धान रोपिएको छ ।

कृषकका अनुसार सिँचाइ सुविधा भएका ठाउँ र गर्मी ठाउँमा धान रोपाइँ धमाधम भइरहेको छ । क्व्होंलासोँथर गाउँपालिका–४, भुजुङका नौराज गुरुङका अनुसार घिम्चे फाँटमा धान रोप्ने तयारी गरिएको छ । उनी सिँचाइको सुविधा भए पनि अहिले मर्मत भइरहेकाले रोपाइँ केही ढिला भएको बताए । उनले भने, खेतमा लगाएको गहुँ र जौ थन्काउन थालेका छौँ । धानको बीउ पनि हुर्किसकेको छ । सिँचाइको मर्मत सकिने बित्तिकै धान रोपाइँ सुरु हुन्छ । कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार पानीको स्रोत र सिँचाइ पुगेको ठाउँमा रोपाइँ थालिएको छ ।

लमजुङका ठूला–ठूला फाँटहरू राइनास नगरपालिकाका राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, मध्यनेपाल नगरपालिकाका भोर्लेटार, दुईपिप्ले, सोतिपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसय लगायतका ठाउँमा स्थानीयसँगै उन्नत जातको धान लगाइने गरिन्छ ।

केन्द्रका अनुसार १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०७५-०७६ मा ४५ हजार ६३९ मेट्रिक टन उत्पादन भएको केन्द्रले जानएको छ । आर्थिक वर्ष २०७४-०७५ मा गत वर्ष १४ हजार ७९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबूढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धानका साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन्।

कमेन्ट गर्नुहोस्