विश्वकपः भारतीय टिमलाई ठूलो झड्का, शिखर धवन घाइते

इंग्ल्याण्डमा जारी एकविदसीय विश्वकप क्रिकेटमा भारतीय टिमलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण सदस्य तथा ओपनर शिखर धवनको औंलामा चोट लागेपछि भारतीय टोलीलाई ठूलो झड्का लागेको हो ।

चोटका कारण उनी ३ हप्ताका लागि टिमबाट बाहिरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी १३ जूनमा न्यूजिल्याण्ड र १६ जूनमा पाकिस्तानविरुद्ध टिममा हुने छैनन् ।

कसरी लग्यो चोट?

आइतबार अस्ट्रेलियाविरुद्धको खेलमा नाथन कोल्टर नेलको बाउन्सरले उनको बुढी औंलामा चोट लागेको थियो । तर उनले त्यसबेला यो चोटप्रति खासै ध्यान दिएनन् । उनले त्यस खेलमा १०९ बल खेलेर ११७ रन बनाएका थिए ।

यसै चोटका कारण उनी त्यस दिन फिल्डिङका लागि मैदानमा आएनन् । उनको सट्टा रविन्द्र जडेजाले क्षेत्ररक्षण गरेका थिए ।

धवनको विकल्प?

धवन बुढी औंला भाँचिएर घाइते भएपछि उनको ठाउँमा केएल राहुलले ओपनिङ गर्ने अनुमान गर्न थालिएको छ । तत्कालका लागि उनी तीन हप्ताकोलागी मात्र खेलमा नरहने बताइएपनि उनलाई सन्चो नभए भारतीय टीम व्यवस्थापनले उनको सट्टा श्रेयस अय्यर या ऋषभ पन्तलाई टीममा सामेल गर्न सक्ने बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्