धनगढी विमानस्थल बुधबारदेखि सुचारु

कैलाली, जेठ २९ । एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत बैशाख २२ गतेदेखि सुरु भएको धावनमार्ग मर्मत र स्तर उन्नतीको काम सकिएपछि विमानस्थल बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको हो ।

धनगढीका विमानस्थलका प्रमुख तेज बहादुर बुढथापाका अनुसार धावनमार्ग मर्मत र स्तरबृद्धिको काम सकिएकाले बुधबारदेखि नियमित उडान सञ्चालन हुने भएको हो । विमानस्थल प्रमुख बुढथापाले कार्यालयको तर्फबाट उडान सुचारु गर्न धावनमार्ग तयारी अवस्थामा रहेकोले एयरलाईन्स कम्पनीले आ–आफ्नो समय तालिका अनुसार उडान भर्ने बताए।

धावनमार्ग मर्मत सम्भार र स्तरवृद्धिको काम सकिएपछि विमान कम्पनीहरुले पनि उडान भर्ने तयारी गरेका छन्। बुद्ध एयर धनगढीका प्रमुख बुद्धराम माझीले भोलीदेखि उडान भर्ने जानकारी दिए। यसअघि बैशाख २२ गतेदेखि विमानस्थल बन्द भएपनि जेठ १९ गतेदेखि मात्रै धावनमार्ग कालोपत्रेको काम सुरु भएको थियो।

कमेन्ट गर्नुहोस्