तामाङ समाज यूएईद्वारा एसएमएस धमाका कार्यक्रमको आयोजना

यूएईः तामाङ समाज युएईको आयोजनामा एसएमएस धमाका कार्यक्रम हुने भएको छ। शिक्षामा पहुँच नपुगेको कारण तामाङ समुदाय राजनैतिक,आर्थिक र सामाजिक रुपमा पछि पर्नुपरेको भन्दै तामाङ समाज युएईले सन् २०१२ यता सपोर्ट माई स्कुल अर्थात एसएमएस धमाका कार्यक्रम मार्फत राज्य र विभिन्न निकायको पहुँच नपुगेका तामाङ समुदायको बाहुल्यता भएका विकट स्थानका विद्यालयहरुमा निरन्तर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

यस वर्ष शिक्षाको लागि सांगीतिक अभियानलाई निरन्तरता दिदै एसएमएस धमाका २०१९ सांस्कृतिक कार्यक्रम युएईको राजधानी आबुधाबी स्थित मलायली समाज हल, मुसाफामा ५ जुलाई २०१९, शुक्रबार दिनको ठिक २ बजे सुरु हुने अनिस तामाङले जानकारी दिएका छन्। कार्यक्रममा नेपालबाट अमन्त्रित अतिथि कलाकार सुरेश लामाको साथमा स्थानीय कलाकारहरुले समेत आफ्नो सांगीतिक प्रस्तुतिहरु दिने तयारी गरिरहेका छन।

समाजले हाल सम्म एसएमएस कार्यक्रमबाट बिभिन्न जिल्लाका आधा दर्जन भन्दा बढी सामुदायिक बिधालयहरूलाई पूर्बाधार तथा शैक्षिक बिकासको लागि आर्थिक सहयोग हस्तान्तरण गरिसकेको समाजका महासचिब सनिल घिसिङले जानकारी दिएको छ ।

सन् २००५ सालमा छत्र लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले विशेषगरी तामाङ समुदायको सामाजिक, साँस्कृतिक र धार्मिक संरक्षण, सम्बद्र्धन र विकासका लागि विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । भुकम्प, बाढीपीडितका साथै गरिबीको कारण प्राण घातक रोगहरुको उपचार गर्न नसकेकाहरुलाई समेत समाजले आर्थिक सहयोग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्