हावाहुरी प्रभावित कैलालीमा यसरी खटिए नेकपाका विद्यार्थी नेता (फोटो)

काठमाडौं, जेठ ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनका नेताकार्यकर्ता कैलालीमा आएको भीषण हावाहुरीबाट प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरुले हुरी प्रभावित क्षेत्रमै गएर क्षति भएका घरटहरा निर्माणदेखि विभिन्न सहयोग गरिरहेका छन् ।

हुरी प्रभावित क्षेत्रमा खटिनेहरुमा अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष चुडामणि भट्ट, तत्कालिन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज राई, गोकुल बीसी, युवा संघका केन्द्रीय सदस्य बिनय शाह, अखिलका जिल्ला अध्यक्ष कुमार बडैला, उपाध्यक्ष समीर जोशी, किशोर शाहलगायत २५ जना विद्यार्थी नेता छन् ।

उनीहरुले धनगढी उप–महानगरपालिका–१२ जुगेडाको सी, बी गाऊँ लगायत विभिन्न क्षेत्रका अति विपन्न वर्ग एवं आर्थिक स्थिती निकै कमजोर भएका व्यक्तिको घर निर्माण गरिरहेका छन् । पाँच दिनदेखि प्रभावित क्षेत्रमा खटिएका उनीहरुले १२ घर पूर्णरुपमा आफ्नै सहयोगले निर्माण गरिदिएको अखिलका केन्द्रीय सदस्य मनोज राइले जानकारी दिए । साथै, १५ घर प्रभावित व्यक्तिकै लगानीमा निर्माण गर्न सहयोग गरेको सदस्य राइले बताए ।

गत बिहीबार आएको हावाहुरीले कैलालीमा मात्रै सात हजार ८४४ जना प्रभावित भएका छन्। २ हजार २१६ घरमा क्षति पुर्‍याएको छ। हावाहुरीले ८४ जना घाइते भएका छन् भने २ जनाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।

धनगढी उपमहानगरपालिकामा मात्रै तीन हजार १४६ जना प्रभावित भएका छन् भने १ हजार ५२ घरमा क्षति पुगेको छ। गोदावरीमा एक हजार जना प्रभावित भएका छन् भने ३५० घरमा क्षति पुराएको छ। कैलाली गाउँपालिकामा एक हजार ५०० प्रभावित भएका छन् भने १०० घरमा क्षति पुगेको छ। ती मध्ये कहिले राहतको नाममा त्रिपाल पाए पनि अधिकांश त्योबाट पनि वञ्चित भएका छन्।

प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख ५० हजार दिने निर्णय गरेको छ तर मृतकका परिवारले कहिले रकम पाउँछन् त्यो भने अझै अन्योलमै छ। पूर्ण क्षति भएका घरहरूलाई २० हजार दिने र आंशिक क्षति भएका घरहरूलाई १० हजार दिने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा विगत ५ दिनदेखि हावाहुरी पीडितहरू खुला आकाश मुनि रात काट्न बाध्य छन्।

 

कमेन्ट गर्नुहोस्