मेयर साउँदको जेसीबीले ठक्कर दिँदा तिनको मृत्यु, ५ जना घाइते

कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान मेयरको जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको छ । डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयर भिम साउँदको से १ त ७३३ नं. को जेसिबीले मे १ ह ७६३ नंको अटोरिक्सालाई ठक्कर दिँदा एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुने ३ जना मध्ये दुइजनाको नाम नखुलेको र अर्का एक जना बैतडीको शरथचन्द नगरपालिका २ का अन्दाजी २८–२९ वर्षीय किसन बोहरा रहेको प्रहरीले जनाएको छ। त्यसगैरी, अटोमा सवार पाँच घाइते भएका छन् । घाइतेको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले मृतकको उद्धार भइरहेको बताउँदै पहिचान हुन नसकेको जानकारी दिए ।

उनले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताए । दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उनका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेका छन् । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । जेसिबीका मालिक साउँद मेयरसँगै ठेकेदार पनि हुन् ।

कमेन्ट गर्नुहोस्