रबि लामिछानेसँग जोडेर प्रकाशित समाचारप्रति मन्त्री पुनद्वारा आपत्ति

काठमाडौं, जेठ ३१ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति मन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्गसमेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको हो ।

उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको जानकारी सचिवालयले जनाएको छ । त्यस्तै पत्रकार लामिछानेको सन्दर्भमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले स्पष्ट पारेका छन् ।

मन्त्रीको हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ-

माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ज्यूको भनाई भन्दै विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको छ । पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ । उक्त समाचारबारे हामीले नयाँ पत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटालाई बुझ्दा समेत समाचार नयाँ पत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको समेत उहाँले स्पष्ट पार्नुभएको छ । त्यसैले यो खबर झूटो भएको जानकारी दिन चाहन्छौं ।

पत्रकार रवि लामिछानेको सन्दर्भमा माननीय मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको म स्पष्ट पार्न चाहन्छु । उहाँको हवाला दिँदै आएका समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेका छौं ।
म यसप्रकारका भ्रममा समेत नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु । साथै यस घटनाको कानूनी उपचार खोज्ने काम भइरहेको समेत आम जनसमुदाय र सञ्चारकर्मी साथीहरूलाई जानकारी दिन चाहन्छु ।

रोशन खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको प्रेस संयोजक

केही दिनदेखि सामाजिक सञ्चालमा अन्य पत्रपत्रिकामा समाचार प्रकाशित भएका भन्दै प्रचारप्रसार हुने गरेको छ । फोटोशप लगायत प्रविधिको दुरुपयोग गर्दै हुने गरेका कुप्रचारमा समग्र पत्रकारिता र कुनै व्यक्तिलाई लक्षित गरेर बद्नाम गर्ने गरिएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्