पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षतिः गृहमन्त्री थापा

चितवन, जेठ ३१ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालको गणतन्त्र स्थापनामा स्व. धनिराम पौडेलको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्याएको योगदान अतुलनीय रहेको बताए ।

पञ्चायतकालदेखि सङ्घीय गणतन्त्र स्थापनासम्म पौडेलले देशका विभिन्न ठाउँमा रहेर योगदान पुर्याएको मन्त्री थापाको भनाइ थियो । नेपाल सरकारको शिक्षामन्त्रीका रुपमा रहेर शैक्षिक विकासमा पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताए ।

नेपाली समस्त आन्दोलनका नेताको संज्ञा दिँदै गृह मन्त्री थापाले पौडेलको निधनबाट सिङ्गो पार्टीमा क्षति पुगेको बताए । पौडेलको ५३ वर्षको उमेरमा आज बिहान माडीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको थियो । मन्त्री थापा स्व. पौडेललाई अन्तिम श्रद्धाञ्जलि दिन चितवन आएका हुन् । पौडेलको अन्त्येष्टि आज माडीमा हुँदैछ ।

कमेन्ट गर्नुहोस्