जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलब हावाहुरी पीडितलाई

कैलाली, जेठ ३१ । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब हावाहुरी पीडितलाई दिने भएका छन् । प्रमुख प्रशासकिय अधिकृत नारायणप्रशाद सापकोटाका अनुसार सबै जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब हावाहुरी प्रभावितलाई दिने भएका हुन् । धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको संख्या तीन सयको हाराहारीमा छ ।

यदि सबैले कर्मचारी र जनप्रतिनिधिले एक दिनको तलब दिएमा एक दिनमा झण्डै अढाई लाख संकलन हुन आउँछ । बिहीबार मात्रै धनगढी उप–महानगरपालिकाको २३औं कार्यपालिका बैंठकले विनासकारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई नगद राहत दिने निर्णय गरेको थियो । हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको हो ।

त्यसैगरी जेठ २३ गते आएको हावाहुरीमा परेर घाइते भएका आफ्नो नगरबासीको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो । त्यसैगरी पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँचसय रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । क्षति पुगेको बिद्युतको पोल ढुवानीका लागि प्रति पोल २ सयका दरले उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत बिहीबार आएको हावाहुरीले कैलालीमा मात्रै सात हजार ८४४ जना प्रभावित भएका छन्। २ हजार २१६ घरमा क्षति पुर्‍याएको छ। हावाहुरीले ८४ जना घाइते भएका छन् भने २ जनाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढी क्षति पुर्‍याएको छ।

धनगढी उपमहानगरपालिकामा मात्रै तीन हजार १४६ जना प्रभावित भएका छन् भने १ हजार ५२ घरमा क्षति पुगेको छ। गोदावरीमा एक हजार जना प्रभावित भएका छन् भने ३५० घरमा क्षति पुराएको छ। कैलाली गाउँपालिकामा एक हजार ५०० प्रभावित भएका छन् भने १०० घरमा क्षति पुगेको छ। ती मध्ये कहिले राहतको नाममा त्रिपाल पाए पनि अधिकांश त्योबाट पनि वञ्चित भएका छन्। प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख ५० हजार दिने निर्णय गरेको छ तर मृतकका परिवारले कहिले रकम पाउँछन् त्यो भने अझै अन्योलमै छ।

कमेन्ट गर्नुहोस्