नेपालको कूटनीति प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

जेनेभा, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली नियोगहरूलाई पुरानो मानसिकतालाई त्यागेर नयाँ गतिले अझ गतिशील भएर नेपालको कूटनीतिलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निर्देशन दिएका छन् ।

युरोप भ्रमणको अन्तिम दिन शनिबार जेनेभामा युरोपस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासका प्रमुखहरूसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिले नेपाल सरकारले लिएको नीति, विदेश सम्बन्ध र कूटनीति सञ्चालनमा हाम्रा नियोग र नियोग प्रमुखले लिनुपर्ने दृष्टिकोणबारे स्पष्ट दिशाबोध हुने गरी निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

यसबाहेक प्रधानमन्त्री ओलीले नियोग सञ्चालन, कर्मचारी व्यवस्थापन नियोगको सम्पत्ति खरिद लगायतका विषयमा अझ गतिशील भएर सशक्त र प्रभावकारी ढङ्गले काम गर्न निर्देशन र्दिएका थिए ।

भेलामा सहभागी राजदूत तथा नियोग प्रमुखहरूले आआफ्नो काम र जिम्मेवारी, अहिलेसम्म हासिल भएको उपलब्धि र भावी कार्यक्रमबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको परराष्ट्रनीति, कूटनीति, यसका प्राथमिकता सरकारका नीति उद्देश्य कार्यक्रम र देशले के कुराको दिशा निर्देश गरेको छ भन्नेबारे जानकारी गराएका थिए ।

जेठ २५ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्र्री ओली युरोप भ्रमणका लागि जेनेभा लागि प्रस्थान गरेका थिए । उनी स्विजरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमण पूरा गरी आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्