अदालतले खारेज गर्‍यो ‘भारत’को लागि दिएको स्टे अर्डर’

काठमाडौं, असार १ । नेपाली चलचित्र ठूला चाडपर्व बाहेक अरु समयमा शुक्रबारमात्र रिलिज गर्नुपर्ने नियम छ ।

यो नियम विदेशी चलचित्रका लागि पनि लागू हुने भन्दै चलचित्र विकास बोर्डले भारतमा बुधबार प्रदर्शनमा आएको फिल्म ुकलंकु लाई सोही दिन नेपाल रिलिज गर्न रोक्यो । चलचित्र शुक्रबार रिलिज भयो । ईदको अवसरमा बुधबार संसारभर प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘भारत’ पनि शुक्रबार नेपाल रिलिज गर्नुपर्ने निर्णयमा बोर्ड अडिक थियो ।

तर, वितरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले काठमाडौं जिल्ला अदालतमा विदेशी फिल्म शुक्रबारमात्र रिलिज गर्नुपर्ने बोर्डको निर्णय विरुद्ध रिट दायर गरे । अदालतले पनि उनको पक्षमा फैसला सुनाउँदै स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न बोर्डलाई सचेत गरायो । साथै, ‘भारत’ बुधबार नै नेपाल रिलिज गर्न दिन आदेश थियो । अदालतको आदेशसँगै विदेशी फिल्म नेपालमा जुनसुकै दिन प्रदर्शनका लागि खुल्ला भयो ।

ठूला बजेटका विदेशी फिल्म जुनसुकै दिन प्रदर्शनमा आउँदा नेपाली फिल्मलाई मार पर्ने भएकाले बोर्डले सबै भाषाका फिल्म शुक्रबार मात्र रिलिज गर्नुपर्ने निर्णय गरेको थियो । तर, अदालतको आदेशले बोर्डको निर्णयमा ठूलो धक्का पुग्यो । अदालतको ‘स्टे अर्डर’ पछि बोर्डले ुभारतु बुधबार नै नेपाल रिलिजका लागि बाटो खोलिदिएपछि काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरण पठायो ।

बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले शुक्रबार ुभारतु का लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । अदालतले उक्त निर्णय खारेज गरेसँगै सोही प्रकृतिका मुद्धाहरु अब अदालतमा नजाने विकास बोर्डले जनाएको छ । ‘भारत’ बुधबार प्रदर्शनका लागि वितरक राठीले एक पक्षिय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए र अदालतले त्यसको पूर्ण कारवाहीलाई थाती राख्दै ‘स्टे अर्डर’ दिएको थियो ।

विकास बोर्डको स्पष्टिकरणपछि अदालतले उक्त मुद्धालाई पूर्ण रुपमा कारवाही गर्दै ‘स्टे अर्डर’ खारेज गरेको हो । अदालतले ‘स्टे अर्डर’ बदर गरेसँगै अब सबै भाषाका फिल्म शुक्रबारमात्र रिलिज हुने बोर्ड अध्यक्ष केशव भट्टराईले जानकारी दिए । उनी भन्छन्, ‘एउटा घटनाबाट सबै निर्माता र वितरकले पाठ सिक्न जरुरी छ । यो घटना कसैको फाइदा र बेफाइदाको लागि हैन । समग्र नेपाली फिल्मको पक्षमा, नेपाली फिल्मको हितमा भएको हो ।’

अध्यक्ष भट्टराईले बोर्डले खुल्ला व्यापार नीतिलाई ध्यानमा राखेको पनि बताए । उनी अगाडि भन्छन्, ‘कुनै पनि विदेशी फिल्म हामी रोक्दैनौं । तर, नेपाली फिल्मलाई असर नहुने गरि रिलिज गर्ने प्रक्रिया सुरु गर्ने बोर्डको चाहना हो । अब सबै भाषाका फिल्म शुक्रबारमात्र रिलिज हुनेछन् ।’ अदालतले विदेशी फिल्म जुनसुकै समयमा प्रदर्शन गर्न दिन बोर्डलाई दिएको ‘स्टे अर्डर’ बदर गरेपछि फिल्मकर्मीमा खुसीयाली छाएको छ ।

कमेन्ट गर्नुहोस्