भारत-पाकिस्तानबीच यस्तो छ क्रिकेट दुश्मनी!

विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चित रहने क्रिकेट भिडन्त कुन हो भन्दा अधिकांशले एउटै उत्तर दिन्छन्- त्यो हो भारत र पाकिस्तानबीचको खेल ।

तीसको दशकदेखि टेस्ट क्रिकेट खेलन थालेको भारतबाट सन १९४७ मा अलग्गिएपछि बनेको पाकिस्तान र भारतबीच सामरिक तनावसँग धेरैले क्रिकेटलाई पनि जोडेर हेर्ने गर्नाले समेत यो खेलमा अधिकांश क्रिकेटप्रेमीहरूको चासो रहेको हुन्छ ।

यस्तो छ इतिहास 

पाकिस्तान विश्व क्रिकेटमा देखा परेको १९५२ देखि हो। भारतसँग १९५२ को जुलाईमा पहिलोपटक नयाँ दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा खेलिएको टेस्ट खेल पाकिस्तानको पहिलो टेस्ट थियो ।

एक दिवसीय क्रिकेटमा भने भारतभन्दा पहिले पाकिस्तानले नै आफ्नो पहिलो खेल खेलेको देखिन्छ । पहिलो पटक ५ जेनुअरी १९७१ मा अस्ट्रेलिया र इङल्याण्डबीच खेलिएको एकदिवसीय खेल नै विश्व क्रिकेट इतिहासमा पहिलो एकदिवसीय खेल मानिन्छ ।

पाकिस्तानले पहिलो एकदिवसीय खेल न्यूजिल्याण्डसँग ११ फेब्रुअरी १९७३ मा खेल्यो भने भारतले १३ जुलाई १९७४ मा इङ्ल्याण्डविरुद्ध खेल्यो ।

सुरुका दिनहरूमा भारत र पाकिस्तान विश्व क्रिकेटका निकै कमजोर टीम मानिने गर्थे । तर समयसँगै दुवै टीमले विश्व क्रिकेटमा आफ्नो स्थान बनाउँदै गए । पहिला दुई विश्वकपहरूमा पहिलो चरणबाट नै बाहिरिएको भारत १९८३ को विश्वकपमा विश्वविजेता बनेर आयो भने पहिलो विश्वकपमा प्रथम चरणबाट नै बाहिरिएको पाकिस्तान दोस्रो तेस्रो र चौथो विश्वकपमा सेमी फाइनलसम्म पुग्न सक्यो र १९९२ मा भएको पाँचौं विश्वकपमा इङ्ल्याण्ड जस्तो सशक्त टीमलाई हराएर विश्व च्याम्पियन बन्न पुग्यो ।

हालसम्म सम्पन्न भइसकेका ११ वटा विश्वकपहरूमध्ये पाकिस्तान २ चोटी क्वाटर फाइनलमा, ४ चोटी सेमी फाइनलमा र २ चोटी फाइनलमा पुगिसकेको छ भने उसले एकपटक विश्वकप जितिसकेको छ । त्यस्तै भारत ३ चोटी सेमी फाइनलमा र ३ चोटी फाइनलमा पुगिसकेको छ । यसमध्ये ऊ २ पटक विश्वविजेता बनिसकेको छ ।

को कति बलियो?

हालसम्म भारतले ९६१ एकदिवसीय खेल खेलेको छ । जसमध्ये उसले ४९८ मा जीत हासिल गरेको छ भने ४१४ मा हार हात पारेको छ । उसले खेलेका ९ खेल बराबरीमा टुंगिएका छन् भने ४० खेल बिना निष्कर्ष रहेका छन् । त्यस्तै पाकिस्तानले हालसम्म ९०२ एकदिवसीय खेल खेलेको छ । जसमध्ये उसलाई ४७७ जीत, ३९८ मा हार मिलेको छ । उसले ८ खेल बराबरीमा अन्त्य गरेको छ भने १९ खेल बिना नतिजा टुंगिएका छन् ।

यदि एकदिवसीय खेलमा आमुन्ने सामुन्ने टक्करको कुरा गर्ने हो भने यसमा पाकिस्तान अगाडी छ । दुवै टीमहरूले हालसम्म १३१ खेल खेलेका छन् जसमा पाकिस्तानले ७३ मा र भारतले ५४ मा जीत हात पारेको छ । यीमध्ये ४ खेल बिना नतिजा टुंगिएका थिए ।

दुवै टीमबीच निकै यादगार खेल भएका छन् । शारजाहमा १९८६ मा भएको अस्ट्रलएसिया कपको फाइनलमा एक बलमा जीतका लागि ४ रन आवश्यक भएको बेला जावेद मियाँदादले प्रहर गरेको छक्कालाई भारत र पाकिस्तानी समर्थकहरूले अझै भुल्न सकेका छैनन्।

तर विश्वकपमा भने भारत मात्रै बलियो देखिन्छ । हालसम्म दुवै देश एकदिवसीय खेलमा ६ पटक भिडेका छन् भने टि-ट्वेन्टी विश्वकपमा ५ पटक भिडेका छन् । यी सबै प्रतिस्पर्धाहरूको नतिजा भने भारतको पक्षमा गएको छ ।

आज म्यानचेस्टरमा भैराखेको खेल यी दुई देशबीचको दोस्रो खेल हो । यस खेलमा पाकिस्तानसँग भारतलाई हराएर इतिहास बदल्ने मौका हुनसक्छ । तर म्याचको अवस्था हेर्दा इतिहास दोहोरिने सम्भावना बढी देखिएको छ ।

कमेन्ट गर्नुहोस्