रसायन मल विस्थापित गरी जैविक मल भित्रयाउनुपर्छः अध्यक्ष घर्ती

रोल्पा, असार २ । सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती मगरले रोल्पा जिल्लालाई नै रसायन मलमुक्त जिल्ला बनाउनुपर्ने धारणा राखेका छन्।

सोर्णाबेली अर्गानिक किसान समूहले सुनिल स्मृति गाउँपालिका–४, सुलिचौरमा आयोजना गरेको अन्तरक्रिया तथा अर्गानिक कृषक तालिम, गोष्ठी कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष घर्तीले यस्तो बताएका हुन् ।

सानो क्षेत्रमा पनि धेरै उत्पादनका लागि रासायनिक मल प्रयोग गरिने भएपनि त्यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुँदा युरिया मलको प्रयोग गर्न नहुने बताए ।

विषादीयुक्त रासायनिक मल विस्थापित गरी स्वच्छ अर्गानिक जैविक मल स्थापित गर्ने उद्देश्यले रोल्पाको सुनील स्मृति गाउँपालिका पुगेका कृषि विज्ञ केवी सुब्बालाई आभार प्रकट गर्दै यस्तो कार्यक्रम जिल्लाभरि हुने हुनुपर्ने धारणा व्यक्त गरे ।

रोल्पाली किसानहरुले उत्पादन गरेको अर्गानिक तरकारी तथा फलफूलको बजार नेपालमै पहिलो नम्बरमा होस् भन्ने चाहना व्यक्त गर्दै त्यसका लागि गाउँपालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै कृषि विज्ञ सुब्बाले रसायन मल विस्थापित गरी स्वच्छ अर्गेनिक मल प्रयोग गर्नुपर्छ भन्ने सन्देश लिएर मोरङको लेताङदेखि ९५० किमी पार गरी रोल्पाली किसान समक्ष आइपुगेको भन्दै रोल्पाली किसानहरुले आफ्ना जायजक कुराहरुलाई व्यवहारमा लागु गरी सहयोग गरिदिनु हुनेमा आशावादी रहेको बताए ।

कार्यक्रममा सुनिल स्मृति गाउँपालिका लगायत आसपासका गाउँपालिका स्थानीयहरुको पनि उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा दुर्गाबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा उन्नत विक्रम शाह, कोषाध्यक्षमा बमकुमारी शाह, सचिव चित्रविक्रम शाहसहित सदस्यहरुमा जीतबहादुर घर्ती क्षत्री, दिलमाया सेन, ज्ञान कुमारी मल्ल, दाना सुवेदी रहेका छन् ।

त्यस्तै सल्लाहकारहरुमा रुद्र महरा र ओविलाल विष्ट रहेका छन् । दुर्गाबहादुर पुनको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई ओलीलाल विष्टले स्वागत गरेका थिए भने उद्घोषण दाना सुवेदीले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्