जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी पार्टी एकीकरण गरिएको होः प्रचण्ड

काठमाडौं, असार २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्डले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गरेका छन् । अध्यक्ष प्रचण्डले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताएका हुन् । उनले दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको पनि स्पष्ट पारे ।

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, अध्यक्ष प्रचण्डले भने ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर ‘कन्फ्युज’ पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवै धारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैँ शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’

अध्यक्ष प्रचण्डले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहोर्‍याए । उनले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरुवात भएको दोहोर्याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

जनयुद्धकालका शहीद रितबहादुर खड्काको १७ औँ स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरुको सपनालाई साकार पार्ने लक्ष्यकासाथ पार्टी अघि बढिरहेको दाबी पनि गरे ।

कमेन्ट गर्नुहोस्