महिला ट्राफिकको कमाण्डमा एयरपोर्ट क्षेत्र

काठमाडौं, असार ३ । एयरपोर्ट क्षेत्र महिला ट्राफिक प्रहरीले हाँक्ने भएका छन् । महिला ट्राफिकले थापाथली प्रभाग हाँकेसँगै सो क्षेत्रमा पनि महिला ट्राफिक प्रहरीलाई नै खटाइएको हो ।

ट्राफिक व्यवस्थापनलाई चुस्त, अनुशासन, मर्यादित र व्यवस्थित बनाउन महानगरीय ट्राफिक महाशाखा रामशाहपथले एयरपोर्ट प्रभागमा महिला ट्राफिक प्रहरीमात्र राख्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको विशेष पहलमा एयरपोर्ट ट्राफिक प्रहरी प्रभागमा महिला ट्राफिक प्रहरी मात्र राख्ने निर्णय भएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले जानकारी दिए । एसएसपी पन्तले भने, ‘एयरपोर्ट प्रभागमा कार्यालय सहयोगीदेखि इन्चार्जसम्म महिला ट्राफिक प्रहरी छन् ।’ प्रभागको इन्चार्ज इन्सपेक्टर मनिषा बुढाथोकी रहेकी छन् ।

जनमानसमा महिला ट्राफिक प्रहरीको छवि तुलनात्मक रुपमा सफा र उँचो छ । खासगरी, महिला ट्राफिक प्रहरीले घुस नलिने, अनुशासित हुने, नियम कानूनको पालना कडाइका साथ गर्ने गराउने कुरामा महिला ट्राफिक प्रहरीले जनताबाट सम्मान पाएका छन् । सोही कारणले गर्दा एयरपोर्टमा विदेशबाट नेपाल आउने विदेशीहरुलाई मध्यनजर गर्दै सो निर्णय गरिएको बताइएको छ ।

महाशाखाका डीएसपी सुनिलजंग शाहले महिला ट्राफिक भएमा सवारी चालकहरुले पनि लेनको पालना गर्ने, जथाभावी पार्किङ गर्न नसक्ने, ट्राफिक प्रहरीसँग सभ्यशिष्ट बोल्ने बताए । स्मरणीय रहोस्, केही समयअघि थापाथली महिला ट्राफिक प्रहरीको सक्रियतामा पूर्वयुवराज पारश शाहलाई जथाभावीबाट सवारी चलाएको भन्दै नियन्त्रणमा लिइएको थियो । महिला ट्राफिक प्रहरी भएका स्थानमा कार्यालय समय (पिक आवर) मा पनि सवारी आवागमन छिटो हुने गरेको यात्रुहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्